विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीश कारवाहीमा

माघ ४,काठमाडौ — विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशहरु कारवाहीको दायरामा परेका छन् ।

साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएका कारण विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशहरुलाई कारबाही गरिएको हो ।

कारबाहीको दायरामा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उनीहरुलाई न्यायपरिषद सचिवालयमा ल्याउन सर्वोच्च अदालतबाट पत्र तयार भएको बताइएको छ ।

चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीशको कार्यभार सम्हाले लगतै गठन गरिएको संयन्त्रले न्यायिक निगरानी गर्दा समस्या देखिएपछि यसरी पाँचजना न्यायधीशहरु कारवाहीमा परेका हुन् ।

उच्च अदालतका न्यायाधीशहरुको यति ठूलो संख्यालाई एकैपटक कारवाहीमा ल्याइएको यो पहिलो घटना हो ।

३३ किलो सुन तस्करीकाण्डमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडी अन्य अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।