१० वर्ष मुलुकको समृद्धिका लागि काम गर्ने नेकपाका अध्यक्ष प्रचण्डको धोको

पुस, २५ चितवन — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहन गरेपछि मात्रै समृद्धिको सपना साकार हुने बताएका छन् ।

चितवन महोत्सवको आज उद्घघाटन गर्दै अध्यक्ष प्रचण्डले निजी क्षेत्रको प्रोत्साहनमा सकारात्मक ढङ्गले लागेको खण्डमा मात्रै मुलुकको समृद्धिको सपना पुरा हुने बताएका हुन् ।

उनले जनताको जीवनस्तर माथी उठाउन र जनतालाई समृद्ध बनाउन निजि क्षेत्रबाट गर्दा पनि हुने र लिबरल इकोनमिबाट गर्दा पनि हुने बताए । पूर्वाधार र देशको विकासका लागि निजी क्षेत्र र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्धन हुनुपर्ने उनको धारणा रहेको छ ।

काम गर्ने शैलीमा समस्या भएको बताउदै अध्यक्ष प्रचण्डले आफूले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयलाई व्यवहारमा उतार्नुपर्छ , उनले भने, जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती अबको समस्या हो ।

राष्ट्रलाई एकता, विकास र समृद्धितिर लैजानुपर्ने उल्लेख गर्दै उनले १० वर्ष समृद्धिका लागि काम गरेरै आफू माथि जाने विचार गरेको जानकारी गराए ।