पुस २४, विराटनगर – विराटनगरमा अत्याधुनिक सुविधा सहितको तरकारी तथा फलफूल बजार निर्माण भएको छ । संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा ब्यापार आयोजनाले करिब १७ करोडको खर्चमा मोरंगको कटहरी गाउँपालिका १ मा उक्त अत्याधुनिक सुविधा सम्पन्न फलफूल तथा तरकारी बजार निर्माण भएको हो ।
उक्त तरकारी बजारले दैनिक ४४ हजार ९६६ मेट्रिक टन तरकारी र ८ हजार ७०३ मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता राखेको छ । संघीय सरकारले निर्माण गरेको प्रदेश १ भरीकै नमूना तरकारी तथा फलफूल बजार प्रदेश सरकारको मातहतमा रहने बताइएको छ ।
तरकारी बजार क्षेत्रमा २ तलाको प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन, लोड(अनलोड एरिया, डिप ट्युबेल, सीसीटीभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ लगायतका व्यवस्स्था गरिएका छन् ।
तरकारी बजारमा १७ वटा होलसेल पसल सँगै रिटेल बजार पनि निर्माण भएको छ । बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था, बजार निगरानीका लागि सीसी क्यामेरा, पार्किङ, तरकारी ढुवानीका लागि गाडीका चालक, सुरक्षा गार्ड र किसानका लागि आराम कक्ष, बजारभित्रै क्यान्टिनको व्यवस्था यसका विशेषस्ताहरु हुन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्मार्ट, सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको बताए ।
उनले उक्त अत्याधुनिक तरकारी तथा फलफूल बजार निर्माणका लागि महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण गरिएको जानकारी गराए ।
अब बिचौलियाको मारमा परेका किसानले अत्याधुनिक तरकारी बजारमा सिधै आफूले उत्पादन गरेका तरकारी तथा फलफूलहरु विक्री गर्न सक्नेछन् ।