सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई हटायो

पुष २४, काठमाडौं – सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई हटाउने निर्णय गरेको छ ।

मानव तस्करीको आरोप लागेकी शेर्पालाई गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको हो ।

सरकारले पदीय मर्यादा विपरितको गतिविधिमा संलग्न भएको खबर थाहा पाएपछि सुरुमा उनलाई सोधपुछ गरेको थियो, त्यसपछि छानबिन समिति नै गठन गरेको थियो ।

छानबिन समितिले उनलाई दोषी प्रमाणित गर्दै हटाउने मन्त्रिपरिषद्ले सोमबार निर्णय लिएको बताइएको छ ।

उनका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव तस्करीमा आवद्ध रहेको आरोप लगाएका थिए ।

पैसा दिने व्यक्तिहरु अस्ट्रेलिया पुग्न नसकेपछि राजदूत लक्की र उनका श्रीमानले पैसा फिर्ता नदिई वाङछुले आरोप लगाएका हुन् । राजदूत शेर्पाले यो आरोपको खण्डन गर्दै आएकी थिइन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई पनि हटाएको छ । मन्त्रिपरिषदले तीन वर्षे कार्यकालको एन ओ एम पास गरी रेग्मीलाई हटाएको र रिक्त पदमा गणेश अधिकारीलाई नियुक्त गरिएको स्रोतको दाबी छ ।

उनी तत्कालीन माओवादीबाट राजदूत बनेकी थिइन् ।