त्रिशूली जलविद्युत् केन्द्रमा आगलागी : विद्युत उत्पादन बन्द

पुस १९, नुवाकोट — त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ ।

बुधबार साँझ आगलागी हुँदा २१ मेगावाट क्षमताको विद्युत उत्पादन बन्द भएको हो । विद्युत् प्रवाह हुने बसबारमा तातेर आगोलागी भएको थियो ।

पूर्णरूपमा१४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजना केन्द्र बन्द हुँदा राष्ट्रिय प्रसारणलाइनमा जोेडिएको ३५ मेगावाट विद्युत् उत्पादन घटेको छ ।

आगो लाग्दा ब्रेकर नं. ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर लगायत उपकरण जलेकाले यसको मर्मत सम्भारको लागि एक करोडभन्दा बढी खर्च लाग्ने केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए । विद्युत आपुर्ति सञ्चालनका लागि करीब एक साता लाग्ने छ ।

उक्त उत्पादन गृहमा गत असार २६ र मंसिर ८ गते पनि आगलागी भएको थियो ।