काठमाडौ,१२ जेठ—संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयता सहितको संविधान लागू भइसकेको भए पनि प्रशासनिक क्षेत्रको संक्रमणकाल समाप्त भइनसकेको बताएका छन् ।
मन्त्री पण्डितले आफूले सम्हालेको मन्त्रालयले सय दिनमा गर्नैपर्ने प्रारम्भिक काम ९० प्रतिशत पूरा गरेको दाबी पनि गरे । उनले नीति तथा कार्यक्रमले सकारात्मक विकासको संकेत गरेको बताउँदै अब प्रस्तुत हुने बजेटले छर्लङ्ग हुने गरी स्पष्ट विकासको खाका आउने र विपक्षीले पनि समर्थन गर्नै अवस्था रहने बताए ।
राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले संविधान संशोधन जस्ता मधेशी जनताको पक्षमा वर्तमान सरकारले काम नगरेको आरोप लगाउँदै सरकारलाई राजपाले दिँदै आएको समर्थन फिर्ता लिनका लागि सोच्नुपर्ने दिन आइसकेको बताए । उनले भने, ‘मधेशी जनताको काम गर्दैन भने हामीले किन सरकारलाई समर्थन दिइरहने ?’
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री संजय गौतमले वर्तमान ओली सरकारले जनतालाई सपना बाँड्नेबाहेक ठोस काम नगरेको बताए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विकास निर्माण गर्ने कुनै कार्यक्रम नभएको बताउँदै रेल ल्याउने सपना बाँड्नुभन्दा पूर्व–पश्चिम राजमार्ग, राष्ट्रिय गौरवका योजना पूरा गर्न सरकारलाई सल्लाह दिए ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले जनताले सरकारको व्यवहारलाई नियालिरहेको र परिणाम प्राप्त हुने काम खोजिरहेको बताए ।