वैशाख ३१, काठमाडौ—संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले महालेखा परीक्षकको कार्यालयको २०७४ को प्रतिवेदनमा बेरुजु देखिएका स्थानीय तहलाई बेरुजु फस्र्योट गर्न निर्देशन दिएको छ । मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई २१ बुँदे निर्देशन दिँदै महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार बेरुजु फस्र्यौट र बेरुजु अभिलेखसमेत राख्न निर्देशन दिएको हो ।
मन्त्रालयले देशभरका महागरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिलाई लेखेको पत्रमा महालेखाको प्रतिवेदनअनुसार बेरुजु लगत राख्ने र सोही अनुसार कार्यपालिका प्रमुखले वर्गीकरणअनुसार असुलउपर गर्नुपर्ने बेरुजु सञ्चित कोषमा दाखिला गराउन, प्रमाण पेस गर्नुपर्ने बेरुजु नियमानुसार नियमित गरी वा प्रमाण पेस गरी फस्र्योट गर्न र श्रेस्ता अद्यावधिक गरी चुस्तदुरुस्त राख्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
स्थानीय तहलाई बेरुजु फस्र्योट गर्न मन्त्रालयको निर्देशन
