बैशाख १२, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उनीहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री थापाले आयोगका पदाधिकारीको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारेका हुन् ।
आइतबार साँझ प्रमुख आयुक्त डा यादवको निवासको पर्खालमा अज्ञात समूहले बम विष्फोट गराएको थियो । भेटमा गृहमन्त्री थापाले केही समुह अस्थिरता निम्त्याउन उद्दत रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइने बताए । उनले घटनामा संलग्नको पहिचान नजिक पुगिसकिएको भन्दै उनीहरुलाई छिट्टै पक्राउ गरिने पनि जानकारी गराए । गृहमन्त्री थापा सहित गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि डा यादवको निवासमा पुगेका थिए ।
रासस