एमाले र नेकपा माओवादी पार्टी एकतामा अन्योल


वैशाख २, काठमाडौ–नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही वैशाख ९ गते हुने भनिएको पार्टी एकता केहि दिन ढिलो हुने संकेत देखिएको छ । लामो समयदेखि एकता संयोजन समितिको बैठक बस्न नसक्दा तोकिएको समयमै एकता हुनेमा नेताहरुले अन्योल व्यक्त गरेका छन ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने तयारी गरिए पनि राजनीतिक प्रतिवेदन र अन्तरिम विधानमा मिल्न बाँकी रहेका विषयबारे छलफल हुन नसक्दा तोकिएको समयमा एकता हुनेमा आशंका बढेको हो ।
गत चैत २७ गते बस्ने भनिएको एकता संयोजन समितिको बैठक नेताहरुको व्यस्तताका कारण भन्दै स्थगित भएपछि त्यसपछि बैठक बस्न सकेको छैन । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच लामो समयदेखि भेटवार्ता हुन सकेको छैन । दुबै अध्यक्ष व्यस्त भएपछि संयोजन समितिको बैठक पनि बस्न नसकेको हो ।
एकता संयोजन समितिका सदस्य वेदुराम भुसालले नेता व्यवस्थापन, जनयुद्ध शव्द र चुनाव चिन्ह वारे टुंगो नलागेको वताउदै वैशाख ९ गते नै पार्टी एकता नभए पनि पार्टी एकता भने नरोकिने स्पष्ट पार्नुभयो ।