चैत्र २०, काठमाडौँ – २३ चैत देखि भारतको तीन दिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् । उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन् ।
प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश समेत स्विकृतिका लागि संसदमा पेस हुँदैछ । सरकारले संसदमा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधन लगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।
सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने बारे राष्ट्रपतिको पत्र सरकार मार्फत संसदमा आउनु पर्ने बताए । उनले भने, ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनु पर्छ । सो पत्र सरकारले संसदमा ल्याएपछि मात्रै संसद्को अधिवेशन अन्त्य हुन्छ ।’ राष्ट्रपतिको पत्र प्राप्त भएकै दिन संसद्को अधिवेशन अन्त्य हुन सक्ने सचिवालयले जनाएको छ ।
नयाँ पत्रिकाबाट