प्रदेश नं. ७ः मुख्यमन्त्रीलाई कालो झण्डा, यस्तो छ कारण !

फागुन १३, धनगढी – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई कञ्चनपुरमा कालो झण्डा देखाइएको छ । मुख्यमन्त्रीको सपथ खाएपछि पहिलो पटक कञ्चनपुर पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालोझण्डा देखाइएको हो । प्रदेश सरकार र राष्ट्रिय सभामा पनि दलितको प्रतिनिधित्व कम भएको भन्दै मुख्यमन्त्री भट्टलाई कञ्चनपुरको चमनचोकमा कालो झण्डा देखाइएको थियो ।

माइती नेपाल कञ्चनपुरद्वारा आयोजित मानव बेचबिखन विरुद्धको मेची–महाकाली जनचेतना अभियानको उद्घाटन सकेर स्थानीय होटलमा कार्यकर्तासँग भेटघाट गर्न जाने बेला मुख्यमन्त्रीलाई कालोझण्डा देखाइएको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीले कालोझण्डा देखाउनेको नाम भने सार्वजनिक गरेको छैन ।

मुख्यमन्त्री भट्टलाई कालोझण्डा देखाउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पाँचैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले पाँचैजनालाई कसुर अनुसारको सजायँ हुने बताए ।
अन्नपूर्णबाट