यसरी भयो एमाले एकल संक्रमणीयमा जान तयार !

पुस १४, काठमाडौँ – बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनु पर्ने अडानबाट एमाले पछि हट्ने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नु पर्ने अडान राखेर कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया अड्काउन खोजेको निष्कर्ष सहित एमाले अध्यादेश पारितका लागि लचकता देखाउन तयार भएको हो ।

अध्यक्ष केपी ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकमा एमाले नेताहरूले कांग्रेसको व्यवहार र अध्यादेशमा सहमति नभएका कारण नयाँ सरकार गठनमा देखिएको जटिलतामा केन्द्रित रहेर पछिल्ला घटनाक्रमको समीक्षा गरेका थिए । कांग्रेस सहमतिमा नआएका कारण अध्यादेश छिटो पारित गर्ने दिशामा अग्रसर हुने निष्कर्ष बैठकले निकालेको थियो । ‘सबै पक्षलाई विचार गरेर पार्टी अध्यक्षले राष्ट्रपतिसँग अध्यादेशबारे कुराकानी गर्नु हुनेछ,’ नेता सुरेन्द्र पाण्डेले भने, ‘माओवादी केन्द्र सहित अन्य पक्षसँग पनि छलफल गरेपछि अध्यादेशबारे अन्तिम टुंगो लाग्नेछ ।’
नयाँपत्रिकाबाट