पुनर्निर्माण प्राधिकरणको २ वर्ष पुरा हुँदा १० प्रतिशत मात्र घर निर्माण

 

पुस १३, काठमाडौँ – भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पार गरे पनि पुनर्निर्माण कार्य भने अझै सुस्त रहेको छ । प्राधिकरणलाई राजनीतिक चलखेलको थलो बनाइएका कारण पुनर्निर्माणले गति लिन नसकेको जानकारहरु बताउँछन् । सरकार परिवर्तनसँगै प्राधिकरणमा आफू निकट व्यक्ति ल्याउने होडमा दलहरु लागे । पुनर्निर्माणलाई गति दिने काम सरकार र दलहरुको प्राथमिकतामा परेन । यसको प्रत्यक्ष मारमा भूकम्पपीडित परेका छन् । घर नबन्दा करिब सात लाख पीडितले तेस्रो हिउँदको जाडो पनि टहरामै बिताउनु पर्ने भएको छ ।

प्राधिकरण तेस्रो वर्ष टेक्दा सम्म ७९ हजार पाँच सय मात्र घर निर्माण भएका छन् । यो भूकम्पबाट क्षति भएका कुल घर संख्याको १० प्रतिशत मात्र हो । प्राधिकरणको लाभग्राही सूचीमा सूचीकृत कुल लाभग्राही संख्या सात लाख ६७ हजार छन् । उक्त तथ्यांक अनुसार ६ लाख ८८ हजार घर अझै निर्माण हुन बाँकी छ । यस मध्ये एक लाख ९४ हजार घर निर्माण भइरहेको प्राधिकरणको तथ्यांक छ ।

निजी आवास पुनर्निर्माणका लागि अनुदान वितरण कार्य पनि सन्तोषजनक छैन । अनुदान सम्झौता भएका ६ लाख ७७ हजार ८११ लाभग्राही मध्ये ६ लाख ६६ हजार ८६९ ले पहिलो किस्ता लिएका छन् । पहिलो किस्ता लिनेको तुलनामा दोस्रो र तेस्रो किस्ता लिने लाभग्राही न्यून छन् । पछिल्लो तथ्यांक अनुसार एक लाख १५ हजार ६२८ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । तेस्रो किस्ता लिने लाभग्राहीको संख्या २६ हजार सात सय पुगेको छ ।
नागरिकबाट