‘सुन्दरी खेती’ र राजनीति संसारको सबैभन्दा पुरानो पेसा हो । हिजोदेखि आजसम्म राजनीति चाणक्यले सिकाए झैं साम, दाम, दण्ड र भेदकै सिद्धान्तमा चलेको छ । तर हिजो र आजको तुलना गर्ने हो भने सुन्दरता बेच्ने तरिकामा धेरै परिवर्तन भएको छ । वार्षिक विश्वभर हजारौं अनेकखाले राष्ट्रिय र अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता गरिन्छन् । आधुनिकतालाई पछ्याउने नेपाललाई सुन्दरी प्रतियोगिताले नलठ्याउने कुरो भएन । किशोरी, युवायुवती, गृहणी तथा बालबालिका लक्षित यस्तो प्रतियोगिताको सुरुवात नेपालमा सन् १९९४ को ‘मिस नेपाल’ पिजन्टको नामबाट सुरु भएको देखिन्छ । सुरुवात भएको २३ वर्ष पुग्दा अहिले काठमाडौं र पोखराका सानातिना हलमा ब्युटी पेजेन्ट आयोजना भइरहेकोे देख्दा सजिलोसँग अनुमान लगाउन सकिन्छ कि यस्ता प्रतियोगिता अब सौन्दर्य धन्दाको रूपमा परिणत हुँदै गइरहेको छ ।
आयोजकले धर्म, कला, संस्कृति, जाति, भाषा, क्षेत्र संरक्षण, प्रवद्र्धन गर्ने नाममा वार्षिक डेढ सयका हाराहारीमा सुन्दरी प्रतियोगिता गर्छन् । यस्तोमा आक्कलझुक्कल सुन्दर प्रतियोगिता पनि हुन्छन् । केही वर्षअघिसम्म मिस नेपाल प्रतियोगिताको पूर्वसन्ध्यामा विभिन्न दलका महिला संगठन र महिलावादी संघसंस्था विरोध र धर्नामा उत्रन्थे । ‘महिला वस्तु होइनन् । तिनलाई नंग्याएर, उनीहरूको भौतिक सुन्दरताका आधारमा ‘सुन्दरता’ मापन गरिनु गलत हो । महिलाको शरीर देखाएर विज्ञापनमा उनीहरूको प्रयोग गर्नु गलत’ भन्दै उनीहरू विरोध गर्थे । तर ‘मेरो शरीर, मेरै मर्जी’ भन्दै सुन्दरीहरूले विरोधको वास्ता गर्न छाडेपछि विरोधका आवाज सेलाउँदै गए ।
त्यसो त सुन्दरी प्रतियोगिताका सकारात्मक पाटा नभएका होइनन् । घरभित्र सधैं छोरीबुहारीकै रूपमा घुम्टोभित्र बसेका महिलाले सामाजिक घेरा तोड्दै मञ्चमा आएर आफ्ना कुरा राख्नु, दर्शकका अघि बोल्नु, मनका कुरा खोल्नु आफैंमा राम्रो हो । प्रतियोगिताबाट फैलेर मोडेलिङ, मिडिया या पर्दामा खुलेर आउने अवसर दिने यस्ता प्रतियोगिता आफैंमा सहज खुड्किला हुन् । यस्ता प्रतियोगितामा विभिन्न खालका व्यक्तित्व विकाससम्बन्धी तालिम पनि दिइन्छ । प्रतियोगिताको ‘ट्यालेन्ट राउन्ड’ ले लुकेको प्रतिभा र कलालाई बाहिर प्रस्फुटन गराउने अवसर दिन्छ । महिना दिनसम्म चल्ने ‘ग्रुमिङ’ मा प्रतियोगीको सामाजिक कार्य, संस्कृति प्रवद्र्धन वातावरणीय संरक्षणमा पनि उल्लेख्य सहभागिता रहन्छ । त्यसो हुँदा मिडिया, चलचित्र, नाटक, मोडलिङजस्ता ग्ल्यामरस क्षेत्रमा भविष्य खोज्नेका लागि स्तरीय ब्युटी पेजेन्ट केही हदसम्म उपयोगी नै हुन्छ । तर अनुभवले के देखाएको छ भने प्रतियोगिताको नाममा पनि ताज जित्नैपर्ने डरलाग्दो होड र ताजका लागि पर्दापछाडिबाट हुने नैतिक÷अनैतिक खेलले अहिले भइराखेकामध्ये थोरै मात्र प्रतियोगिता प्रोफेसनल भएको अनुमान गर्न सकिन्छ ।
प्रतियोगिता सम्पन्न भएपछि कतिपय प्रतियोगीले मागेअनुसार पैसा नदिएका कारण ताज आफूले हात नपारेको प्रतिक्रिया दिने गरेबाट कतिपय आयोजकले प्रतियोगीको ‘चर्चित हुने लोभ’ मा खेल्दै मोटो पैसा उठाएर ‘ताज’ र टाइटल बेच्ने गरेको बुझिन्छ । आयोजक र निर्णायक निष्पक्ष भए राम्रो प्रतियोगीले आफ्नै क्षमताले ताज जित्छ्न तर कतिले आफ्ना अनेक ‘शक्ति’ प्रयोग गरेर ताज जित्ने गरेको बुझ्न सकिन्छ । कतिपय प्रतियोगीले जित्नको लागि आयोजकको ‘जस्तोसुकै माग’ समेत पूरा गरेका छन् । संसार संघर्षमय छ, यहाँ आफ्नो क्षमता नदेखाई कसैको केही हुँदैन र एक-दुई ताज र टाइटल पाउनेबित्तिकै रातारात चर्चित सेलिब्रेटी हुन्छु भनेर सोच्नु आफैंमा मुर्खता हो ।
आजका चर्चित सेलिब्रेटीको विगतलाई पल्टाएर हेर्ने हो उनीहरू रातारात त्यो उचाइमा पुगेका हैनन् । कडा मेहनत, लामो संघर्ष र निरन्तरको अभ्यासविना कमैले सफलता पाएका छन् । यस्तै ‘सुन्दर-सुन्दरी प्रतियोगिता’ बाटै अगाडि आएका प्रियंका कार्की, रेखा थापा, निशा अधिकारी र जीवन लुइँटेल उदाहरण हुन् । यो साल र गत दशकमै कतिले ताज पहिरिए होला ? त्यसैले यहाँ गुमनाम हुने बिजेता नै कति छन् कति । यस्ता प्रतियोगिताका आयोजकले आफ्नो घरबार बेचेर समाजसेवा त गरिरहेका पक्कै होइनन् किनकि एउटै कम्पनीको ब्यानरमा एकै साल दर्जनौं ब्युटी पेजेन्ट, बिजेता र रनर्स बन्ने कति छ्न कति । प्रतियोगी र अविभावकले हारिसकेपछि धाँधली र फिक्सिङ भएको भन्दै स्टेजमा हंगामा मच्चाउने र तोडफोडमै उत्रिएपछि कतै ताजै छोडेर भगाभागसम्म चल्छ भने कतिपय व्यक्ति प्रशासन र मिडिया गुहार्न पुग्छन् । चम्किलो ताजको लागि यत्रो विवाद गर्नु कत्तिको जायज होला ? पत्थरको पगरीले कसैलाई स्टार बनाउन सक्ला ?
मिस, मिस्टर, मिसेस र लिटिलका टाइटलले रातारात कसैले अर्कै अवतार लिने अवश्य होइन । त्यसले एकदुई दिन मिडियामा फोटा र भिडियो आउने छुट्टै कुरो । बाँकी १५-२० हजार तिराएर ‘इभेन्टस्’ ले दिने तालिमले कोही सेलिब्रेटी हुने अवश्य होइन । सफलताको बाटो आफ्नै मेहनतले तय हुन्छ । हाम्रो समाजमा सुन्दरी प्रतियोगिताको नकारात्मक भाव छ, तर कुनै पनि पेसा नराम्रो हुँदैन । इमान्दार र बेइमान समाजका हर कुना र पेसामा छन्, हुन्छन् । तर कुनै पनि नाममा कसैलाई ठग्ने, झुकाउने, झुलाउने अधिकार कसैलाई छैन । प्रतियोगीले तालिमवापत रकम बुझाएपछि सोहीअनुरूप तालिम ब्युटी पेजेन्टले दिनैपर्छ । जति पुरस्कर रकम वा सेवासुविधाको विज्ञापन फुकेर प्रतियोगीलाई लोभ्याएको हुन्छ, ती सुविधा प्रतियोगीले पाउनैपर्छ । पुरस्कारको रकम र उपहार दिनसमेत महिनौं झुलाउनेसमेत छन् । त्यस्ता आयोजकलाई कारबाही हुनुपर्छ ।
प्रतियोगीलाई पैसाको बोट सम्झिएर अडिसन र छनौटको नाममा सकेसम्म पैसावाललाई मात्रै प्रतियोगितामा लिई एकदेखि पाँच हजारसम्मको महँगो टिकट दर राखी जबर्जस्ति या ताजको लोभ देखाई टिकट बेच्नैपर्ने वाध्यतामा पारिन्छ । यसो गर्दा प्रतियोगी र आफन्तलाई मानसिक तनाव पर्छ । यो सरासर गलत हो । ‘मोस्ट पपुलर’ को ताज दिने नाममा प्रतियोगीको भोटिङ खुलाएर लाखौं रुपैयाँ भोटबाट उठाइसकेपछि बढी भोट ल्याउनेलाई ताज नदिएर त्यो ताज फेरि बिक्रीमा समेत राखिन्छन् । यो कत्तिको जायज हो ?
आलेखको आसय सबै सुन्दरी प्रतियोगिता गलत छन् भन्ने होइन । तर अहिलेको विकृति देख्दा कुनै बेलाको नेटवर्किङमा जस्तै बेथिती देखिएका छन् यो प्रतियोगितामा पनि । थाहा पाएर वा नपाएरै ठगिँदै छन् प्रतियोगी । यसो हुँदा यस ‘पेसा’ लाई पनि कानुनी दायरामा ल्याउनु जरुरी छ । बिना लगामको घोडा झैं दौडिरहेका ब्युटी पेजेन्टलाई मापदण्ड र करको घेरामा समेत ल्याउनुपर्छ । यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । अझै यो विषय महिला र बालबालिकासँग सम्बन्धी छ । महिला आफैंले पनि स्वतन्त्रता र शोषणबीचको अन्तर छुट्याउनु अति आवश्यक छ । जानीजानी या झुक्किएर अझै महिला आफंैलाई ठग्दैछन् । बेलैमा यो विषयमा सबैले सोच्न जरुरी छ । मेकअप र शारीरिक सुन्दरतालाई प्राथमिकता दिनुभन्दा बौद्धिकता, विचार र कर्मको सुन्दरतालाई निखार दिनु आवश्यक छ ।
साभार—अन्नपुर्ण पोष्ट