कानुन प्रमाणीकरण लगत्तै राष्ट्रिय सभा निर्वाचन हुने

२९ मंसिर, काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी कानून बनेपछि मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकिने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अध्यादेश मार्फत कानुन ल्याउन यस अघि नै राष्ट्रपति कार्यालयमा अध्यादेश पेस गरिसकेको छ । देउवा सरकारले पेस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन हुना साथ राष्ट्रिय सभा निर्वाचनको ढोका खुल्ने भएको छ । राष्ट्रपति कार्यालयका मुख्य सचिव भेषराज शर्माका अनुसार राष्ट्रपतिबाट अध्यादेशबारे छलफल र परामर्श भइरहेको छ । ‘राष्ट्रपति ज्यूले अध्यादेशबारे आवश्यक छलफल र परामर्श गरि रहनु भएको छ,’ शर्माले भने, ‘छलफल र परामर्श पछि आवश्यक सुझाव सहित सरकारलाई फिर्ता पनि गर्न सकिन्छ वा अनुमोदन पनि हुन सक्छ ।’ राष्ट्रिय सभाको निर्वाचन मिति निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले तोक्ने अध्यादेशमा उल्लेख छ ।

निर्वाचन आयोगले कानुन प्राप्त हुना साथ निर्वाचनको तयारी गरिने जनाएको छ । ‘कानुन प्राप्त हुना साथ निर्वाचनको तयारी गरिने छ,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा धेरै समय लाग्ने छैन ।’ संविधानको धारा ८३ अनुसार २ सय ७५ सदस्यीय प्रतिनिधिसभा र धारा ८६ अनुसार ५९ सदस्यीय राष्ट्रियसभा गठन गरिनेछ । संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ, जसलाई संघीय संसद भनिनेछ । संघीय संसद पूर्णताका लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्नु पर्नेछ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएर हाल मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।
राजधानीबाट