अबैध १७ किलो सुन केरुङ नाकामा समातियो

मंसिर २, काठमाडौ — रसुवाको केरुङ नाकाबाट अबैध १७ किलो सुन बरामद गरिएको छ । शनिबार बिहान विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बोलेरो जिपबाट उक्त परिमाणको सुन बरामद गरेको हो ।
केहीदिन अघि नेपालबाट सामान लिन तिब्बत गएको बा११च नम्बरको जिपबाट लुकाइ ल्याइएको अवस्थामा सुन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरतकुमार थापाले बताए ।
उनका अनुसार जिपमा न्यापकिन, ट्वाइलेट पेपर ल्याइएको थियो । त्यही समान भित्र राखेर १७ किलो सुन पनि नेपाल ल्याइँदै थियो ।
उनले भने, ’हामीले विशेष सुराकीको आधारमा अवैध सुन ल्याउँदै गरेको जानकारी पायौं । जाँचको क्रममा उक्त परिणामको सुन पायौं ।’ उनले अहिले अन्य सवारीसाधनलाई पनि जाँच भइरहेको बताए । यो समाचार आजको कान्तिपुुर दैैनिकमा छापिएको छ ।
उनका अनुसार जिप र जिपचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्वतीकुण्ड गाउँपालिकाका ३१ वर्षीय कसाङ दावा तामाङले उक्त जिप चलाएका थिए । प्रमुख थापाले भने, ’सुन मालिक को हो र कहाँ लगिँदै थियो भन्ने हामी अनुसन्धान गरिरहेका छौं ।’