दुई तहको निर्वाचन गर्न ४३ अर्ब बढी खर्च हुने

कात्तिक २१ ,काठमाडौं – आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा करिब ४३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उम्मेदवार र राजनीतिक दलहरूले २३ अर्ब भन्दा बढी र निर्वाचन आयोग र सरकारले २० अर्ब भन्दा बढी खर्च गर्नेछन् । सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनमा गर्ने खर्चका कारण अर्थतन्त्र गतिशील हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूले निर्वाचन प्रचार प्रसारका लागि क्रमशः २५ लाख र १५ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरिदिएको छ । यस हिसाबले प्रतिनिधिसभाका उम्मेदवारहरूले वैधानिक रूपमा पाँच अर्ब १५ करोड ५० लाख रुपैयाँ खर्च गर्न पाउँछन् । त्यस्तै प्रदेश सभामा ३,४४८ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । उनीहरूले वैधानिक रूपमा गर्न पाउने खर्च पाँच अर्ब १७ करोड २० लाख हुन आउँछ ।

प्रतिनिधिसभाका प्रमुख दलका एक उम्मेदवारको अनुमानित दुई करोड रुपैयाँ खर्च हुने दलका नेताहरूले नै बताउने गरेका छन् । प्रतिनिधिसभाका सबै निर्वाचनक्षेत्रमा कम्तीमा दुई उम्मेदवारले दुई करोड खर्च गर्छन् । कुल क्षेत्र मध्ये ५० प्रतिशत क्षेत्रमा दुई जना उम्मेदवार प्रत्येकले दुई–दुई करोड खर्च गर्ने अनुमान गर्न सकिन्छ । यस आधारमा ४१३ उम्मेदवारले प्रति उम्मेदवार दुई करोड खर्च गर्छन् । जस अनुसार आठ अर्ब २६ करोड खर्च हुन्छ ।
नयाँपत्रिकाबाट