रवीन्द्र अधिकारी
कांग्रेसले भर्खरै आफ्नो घोषणा सार्वजनिक गरेको छ । उसले आफ्नो घोषणापत्रमा भनेको छ— देश वामपन्थी अतिवादी निर्णयका कारण गम्भीर संवैधानिक संकटमा फस्न पुगेको छ । कांग्रेसले वामपन्थीहरूको गठबन्धनको त्रास देखाएर जनतामाझ आफू मात्र सही शक्ति भएको पुष्टि गर्न खोजेको छ । यथार्थमा उसले हिजो पनि माओवादीसित गठबन्धन गरेकै हो । त्यतिखेर उसले यो कुरा सम्झिन आवश्यक ठानेन । तर, आज वामपन्थीहरूको गठबन्धन बनिसकेपछि मात्र उसले यो कुरा सम्झेको छ । कांग्रेसले आफ्नो घोषणापत्रमार्फत वाम गठबन्धनको त्रास देखाएर जनतामा आफूप्रति आस जगाउने र निर्वाचन जित्ने वा वाम अधिनायकवादको त्रास देखाएर देशमा कांग्रेस मात्र एउटा आवश्यक शक्ति हो भन्ने स्थापित गर्ने असफल प्रयास गरेको छ । यसले कांग्रेससित वाम गठबन्धनको त्रास फैलाउनेबाहेक जनताका दैनन्दिनीसित जोडिएका कुनै एजेन्डा नै नभएको पनि पुष्टि गरेको छ ।
किन बन्यो वाम गठबन्धन ?
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । संविधान निर्माणसँगै अब हामी विकास र समृद्धिको यात्रामा लम्किनु छ । देशको विकास र जनताको समृद्धि नै हाम्रो अबको वास्तविक लक्ष्य बन्नुपर्छ । अब हामी वास्तविक समाजवादतर्फको यात्रामा अघि बढ्नु छ । हाम्रो नयाँ संविधानले आत्मसात् गरेको विषय पनि त्यही हो । यो लक्ष्य हासिल गर्न मुलुकमा राजनीतिक स्थायित्व अत्यन्त जरुरी छ । राजनीतिक स्थायित्वविना देशलाई समृद्धिको बाटोमा अघि बढाउन सम्भव छैन । त्यही राजनीतिक स्थायित्व दिने मूल उद्देश्यसाथ वामपन्थी शक्तिहरूले आपसमा मिलेर एउटा गठबन्धन बनाउँदै गर्दा कांगे्रसले यसको विरोध गर्नुको कुनै तुक छैन । बरु, उसले पनि आफूसित विचार मिल्ने शक्तिहरूको अर्को गठबन्धन बनाएर जान सके दीर्घकालमा त्यो देश र जनताको हितमै हुनेछ ।
राजनीतिक स्थायित्वका लागि गठबन्धन
हामीले जुन समानुपातिक निर्वाचन प्रणाली अंगीकार गरेका छौँ, त्यसलाई तत्कालै परिवर्तन गर्न सक्ने अवस्था पनि छैन र यो प्रणाली कायम रहुन्जेल बलियो गठबन्धनविना निर्वाचनमा कुनै एउटा दलले मात्र एकलौटी बहुमत ल्याएर देशलाई राजनीतिक स्थायित्व दिन सक्ने सम्भावना पनि छैन । यस्तो अवस्थामा निर्वाचनमा बहुमत ल्याएर देशलाई राजनीतिक स्थायित्व दिने दायित्व एमाले, माओवादी वा कांग्रेसको मात्र होइन, देशमा सक्रिय सम्पूर्ण राजनीतिक शक्तिहरूको हो । र, जनताले खोजेको पनि यही हो । उनीहरूलाई को कांग्रेस, को एमाले, को माओवादीभन्दा पनि देशलाई राजनीतिक स्थायित्व दिन सक्ने शक्तिको आवश्यकता छ ।
देशमा राजनीतिक स्थायित्व नभएसम्म मुलुकको समृद्धिको सपना नदेखे पनि हुन्छ । राजनीतिक स्थायित्व कायम हुन सकेको अवस्थामा मात्र देशमा स्वदेशी तथा विदेशी लगानी आउँछ । पूर्वाधारको विकास पनि हुन्छ । देशले आर्थिक समृद्धि पनि हासिल गर्न सक्छ । देश र जनताका लागि गरिने सबै काम सहज ढंगमा अघि बढ्न सक्छन् । त्यसैले पनि आज देश र जनताको पहिलो प्राथमिकता राजनीतिक स्थायित्वसहितको लोकतान्त्रिक प्रणाली नै हो, अधिनायकवादी प्रणाली होइन । जनताले ६–६ महिनामा कांग्रेस, एमाले, माओवादीलगायत प्रमुख राजनीतिक शक्तिहरूको सरकार फेरिएको देखिसकेका छन् । ती अल्पकालीन सरकारले कहिल्यै देशको समृद्धिमा ध्यान दिन नसकेको र सरकार कसरी जोगाउने भन्ने ध्याउन्नमै रुमल्लिइरहेको पनि जनताले बुझेका छन् । त्यसैले यतिखेर जनता निःसर्त राजनीतिक स्थायित्व चाहन्छन् । र, जनतालाई त्यही राजनीतिक स्थायित्व दिनका लागि हामीले यो वाम गठबन्धन निर्माण गरेका हौँ ।
कांग्रेसले विगतमा आफूसित विभिन्न लोकतान्त्रिक आन्दोलनका लागि अनेक मोर्चामा सँगसँगै लड्दै आएका पार्टीहरूले बनाएको गठबन्धनमाथि आधारहीन, तर्कहीन, कपोलकल्पित र भ्रामक आरोपहरू लगाइरहेको छ । यो सब उसको कमजोर मानसिकताको उपज मात्र हो ।
गठबन्धनमाथि जनताको विश्वास
पछिल्लो समयमा वाम गठबन्धन बनिसकेपछि यसलाई आमनेपाली नागरिकले निकै ठूलो आशा र भरोसापूर्ण दृष्टिले हेरिरहेका छन् । अब देशमा राजनीतिक स्थायित्व आउने भयो, देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने भो भनेर आमनागरिक निकै आशावादी देखिएका छन् । एकातिर जनता यसरी आशावादी देखिइरहेका छन् भने अर्कातिर कांग्रेसले अब वाम गठबन्धनले देशलाई भताभुंग बनाउने भो भन्ने हौवा फैलाइरहेको छ । यो कांग्रेसको दृष्टिदोषसिवाय केही होइन । यसरी जनतामा हुँदै नभएको काल्पनिक भ्रम छरेर होइन, स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरेर निर्वाचनमा जान र आफ्नो गठबन्धनबाट सकभर बहुमत ल्याउन र देशलाई राजनीतिक स्थायित्व दिने विषयमा सोच्न म कांग्रेससँग हार्दिकतापूर्वक आग्रह गर्छु । यो देशमा राजनीतिक स्थायित्व आउँछ भने यसबाट कोही पनि हताश हुनुपर्ने कारण छैन । राजनीतिक अस्थिरता र अराजकतामा आफ्नो भविष्य खोज्ने सपना कांग्रेसजस्तो पार्टीले देख्नुहुँदैन । विगतमा जे–जे गल्ती गरेको भए पनि अब कांग्रेसले अस्थिर र अन्योलबाट मुलुकलाई मुक्त गर्ने दिशामा अघि बढ्नु जरुरी छ । धमिलो पानीमा माछा मार्ने दाउ छाडेर अब मुलुकको विकास र जनताको समृद्धिमै आफ्नो भविष्य खोज्ने दिशामा कांग्रेस पनि अघि बढ्नुपर्छ ।
समाजवादतर्फको यात्रा
देशमा राजनीतिक स्थायित्व र समृद्धिसँगै हामी समाजवादतर्फको यात्रामा अघि बढ्न चाहन्छौँ । कांग्रेसले पनि समाजवादको नारा दिने गरेको छ । अब एक–अर्काविरुद्ध भ्रम छरेर होइन, आफूले भनेको समाजवाद कस्तो हो, त्यसले देश र जनतालाई कहाँबाट कहाँ पु¥याउने हो, प्रस्ट पारेर विचारमा प्रतिस्पर्धा गर्नु आवश्यक छ । आखिर कांग्रेस यो देशमा कस्तो समाजवाद ल्याउन चाहन्छ ? त्यसको स्पष्ट रोडम्याप के हो ? उसले त्यो लिएर मैदानमा आउन सक्नुपर्छ । अनि बल्ल वैचारिक मन्थन हुन्छ र एउटा निष्कर्षमा पुग्न सकिन्छ । कांग्रेस आफूलाई लोकतन्त्रको पहरेदार ठान्ने गर्छ । उसले चाहेको लोकतन्त्रको संस्थागत विकास कस्तो हो ? उसले संघीयतालाई कसरी व्यवस्थित गर्न चाहिरहेको छ ? उसले देशको समृद्धिमा यहाँका स्रोतसाधनको कसरी उपयोग गर्न चाहिरहेको छ ? त्यसको प्रस्ट खाकासहित आउन सक्नुपर्छ । अब यो वा त्यो आरोप–प्रत्यारोपबाट होइन, एजेन्डाका आधारमा प्रतिस्पर्धा गर्नुपर्छ ।
हामीले यो गठबन्धन लोकतन्त्रको स्थायित्वसँगै समाजवादतर्फ जानकै लागि निर्माण गरेका हौँ । जनआकांक्षालाई सम्बोधन गर्न हामीले यो गठबन्धन गरेका हौँ । यसका लागि हामी निर्वाचनपछिका दिनमा स्वदेशी तथा विदेशी लगानी भिœयाएर देशको आर्थिक विकासका लागि आवश्यक पूर्वाधार विकासमा क्रियाशील हुनेछौँ । हामी विश्वकै दुई ठूला अर्थतन्त्र भएका छिमेकीको बीचमा छौँ । हामीले आगामी दिनमा उनीहरूसित प्रतिस्पर्धा गर्न सक्ने सुदृढ अर्थतन्त्र र त्यसका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्नुपर्नेछ । यसका लागि हामीसित दुवै मुलुकको कुनै पनि हस्तक्षेप वा थिचोमिचो सहनुनपर्ने बलियो सरकारको खाँचो छ । हाम्रो गठबन्धन त्यसैको परिपूर्तिका लागि बनेको हो । हामीकहाँ राजनीतिक अस्थिरता भएका कारण ६–६ महिनामा सरकार परिवर्तन भइरहँदा हामीलाई विदेशीले पनि हेपे । उनीहरूको प्रभाव र प्रभुत्व हामीमाथि लाद्ने कोसिस भयो । आगामी दिनमा यस्तो अवस्था फेरि दोहोरिन नदिन तथा नेपाल र नेपालीको शिर ठाडो गराउन पनि हामीले यो गठबन्धन बनाएका हौँ । त्यसैले पनि यस गठबन्धनलाई कुनै एक समूहले बहुमत ल्याएर सरकार बनाउने भयो भनेर हेर्नुभन्दा पनि यो गठबन्धन मुलुकको बृहत्तर हितका लागि आवश्यक छ भन्ने कोणबाट हेरिनुपर्छ ।
वाम गठबन्धनबाट भयभीत कांग्रेस
यतिखेर कांग्रेसका साथीहरू निर्वाचनपछि वाम गठबन्धनले बहुमत ल्याउला र आफू सरकारबाहिरै बस्नुपर्ला भन्ने भयबाट आक्रान्त हुनुहुन्छ । आफू सत्तामा पुग्न नसक्ने हो कि भन्ने चिन्ताले गर्दा उहाँहरू यतिखेर लोकतन्त्रमाथि खतरा मडारिइरहेको देख्न थाल्नुभएको छ । तर, हिजो आफूहरू सत्तामा भएको समयमा भ्रष्टाचार बढिरहँदा, राजनीतिक कुशासन मौलाइरहँदा, देशको विकास निर्माण अस्तव्यस्त भइरहँदा र ६–६ महिनामा सरकार परिवर्तनको खेल चलिरहँदाचाहिँ उहाँहरूले कहिल्यै लोकतन्त्र खतरामा परेको देख्नुभएन । कांग्रेस साँच्चै लोकतन्त्रमा विश्वास गर्छ भने उसले अहिले बनेको वाम गठबन्धनको विरोध होइन, स्वागत गर्न सक्नुपथ्र्यो । लोकतन्त्रमा विचार मिल्ने पार्टीहरू एक हुनु र मिल्न नसकेको अवस्थामा अलग हुनु स्वाभाविक प्रक्रिया हो । वाम गठबन्धनका कारण आफू कमजोर बनेको महसुस कांग्रेसलाई भएको हो भने उसले पनि आफूसित विचार मिल्ने शक्तिहरूसित गठबन्धन गरे हुन्छ । अहिलेको निर्वाचनमा पनि उसले विभिन्न शक्तिसित गठबन्धन गरिरहेकै छ । यसलाई हामीले सहज रूपमा लिएका छौँ । उसको गठबन्धनबाट तर्सेर यो वा त्यो कुनै आरोप त्यस गठबन्धनमाथि लगाइरहेका छैनौँ । तर, कांग्रेसले विगतमा आफूसित विभिन्न लोकतान्त्रिक आन्दोलनका लागि अनेक मोर्चामा सँगसँगै लड्दै आएका पार्टीहरूले बनाएको गठबन्धनमाथि आधारहीन, तर्कहीन, कपोलकल्पित र भ्रामक आरोपहरू लगाइरहेको छ । यो सब उसको कमजोर मानसिकताको उपजबाहेक केही होइन । अब अरूलाई गाली गरेर होइन, आफैँले राम्रो काम गरेर जनताको मन जित्न सके मात्र राजनीतिमा टिक्न सकिन्छ नत्र जनताबाट तिरष्कृत भई धूलीसात् हुन कत्ति पनि बेर लाग्दैन भन्ने कांग्रेसले बुझ्न ढिलो गर्नुहुँदैन । नया पत्रिकावाट साभार ।
(अधिकारी एमाले केन्द्रीय सदस्य हुन्)