६८ जिल्लाबाट कांग्रेसको उम्मेदवार सिफारिस

 

असोज २५, काठमाडौं – कांग्रेसका ६८ जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको सूची केन्द्रीय कार्यसमितिमा पठाएका छन् । असोज १७ सम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिईएपनि अझै ९ जिल्लाले सूची पठाएका छैनन् ।

उम्मेदवारको सूची नआउनेमा प्रदेश २ का पर्साबाहेक ७ जिल्ला छन् । रुकुम र रोल्पाले पनि सूची पठाएका छैनन् । प्रतिनिधिसभाका लागि ३० जिल्ला र प्रदेशसभाका लागि ६ जिल्लाले सर्वसम्मत उम्मेदवारको सूची पठाएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण केसीले बताए ।आजको कान्तिपुरमा खबर छापिएको छ ।

कांग्रेस नेतृत्वमा चुनावी तालमेलका लागि छलफल चलिरहेका कारण प्रदेश २ को सूची पठाउन जिल्ला कार्यसमितिले ढिलाइ गरेका हुन् । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माणका लागि आबद्ध ६ दलबीच निर्वाचन क्षेत्र बाँडफाँटबारे छलफल चलिरहेको छ । सिट बाँडफाँटमा प्रदेश २ मा नै मुख्य समस्या देखिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको प्रभाव क्षेत्र रहेको यो प्रदेशमा कांग्रेस, राजपा र फोरमबीच सिट बाँडफाँट गर्न छलफल चलिरहेको छ ।

राजपा र फोरम गठबन्धनले ३२ निर्वाचन क्षेत्र रहेको प्रदेश २ बाट प्रतिनिधिसभामा २४ र प्रदेशसभाका लागि ४८ सिट माग गरेको छ । कार्यदल बैठकमा राजपा र फोरमले प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा १ सय ३१ सिट माग गरेपछि ६ दलबीच दुई दिनदेखि बैठकसमेत बस्न सकेको छैन । कांग्रेसबाट कार्यदल सदस्य पूर्णबहादुर खडकाले दुई दिनदेखि बैठक नभएको बताउँदै कार्यदलका संयोजकले अनौपचारिक संवाद गरेको बताए । कार्यदलको संयोजकमा कांग्रेस नेता विमलेन्द्र निधि छन् ।