प्रारम्भिक मतपरिणाम आउन सुरु, यी हुन् मतगणना भैरहेको ठाउँहरु

 
असोज ३, काठमाडौँ – स्थानीय तहको तेश्रो चरणको निर्वाचन भएको एक महानगर र तीन उपमहानगरापलिकामा अझै मतगणना सुरु हुन सकेको छैन। वीरगञ्ज महानगर सहित जनकपुर, कलैया र जितपुर-सिमरा उपमहानगरपालिमा मतगणना सुरु हुन नसकेको हो। बिहानबाटै मात्र मतगणना सुरु गर्ने ती जिल्लाका मुख्य निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन्।

निर्वाचन भएको १ सय ३६ स्थानीय तह मध्ये अधिकांशमा ठाउँहरुमा मतगणना सुरु भएको छ। केही स्थानमा भने प्रारम्भिक मतपरिणाम समेत आउन सुरु भइसकेको छ। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पहिलो मतपरिणाममा फोरमका उम्मेद्वारले अग्रताले लिएका छन्। सप्तरीको सप्तकोशी गाउँपालिकामा एमालेका उम्मेद्वारले अग्रता लिएका छन्

सिराहाकै लाहान, कल्याणपुर, मिर्चैया, धनगढीमाई, कर्जन्हा, गोलबजार नगरपालिकामा मतगणना सुरु भएको छ। लाहानका निर्वाचन अधिकृत नारायणबहादुर थापाले मतपरिणाम बिहान मात्र जानकारी गराउन सक्ने बताए।

रौतहटको गौर नगरपालिकामा पनि मतगणना भैरहेको छ। मतगणना जारी रहेपनि प्रारम्भिक मतपरिणाम घोषणा बिहान मात्रै गर्ने निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन्।

त्यस्तै धनुषाको मिथिला, धनुषाधाम, क्षिरेश्वरनाथ नगरपालिकामा मतगणना सुरु भएको छ। धनुषाको जनकनन्दनी, मुखियापट्टी, हंसपुर, औरहीमा पनि गणना जारी छ।

महोत्तरीका पनि आठ स्थानीय तहमा मतगणना सुरु भैसकेको छ। जलेश्वर र गौशाला र बर्दिबास नगरपालिकामा पनि मतगणना जारी रहेको छ। मतपरिणाम भने बिहानमात्रै प्रारम्भिक रुपमा जानकारी गराउने तयारी भैरहेको छ।

बाराको देवताल, फेटा र बारागढी गाउँपालिकामा मतगणना सुरु भएको छ। तर कलैया र जितपुर सिमरा जस्ता उपमहानगरपालिकामा भने मतगणना सुरु भएको छैन।

त्यस्तै सर्लाहीका पनि पाँच स्थानमा गणना सुरु भएको छ। त्यहाँ लालबन्दी नगरपालिकामा मतगणना जारी छ। मलंगवामा भने बिहानबाट मात्रै मतगणना सुरु हुने प्रहरी उपरिक्षक मसउद आलम खाँले जानकारी दिए।

त्यस्तै सप्तरीको खडक नगरपालिका, सप्तकोशी नगरपालिका, तिलाठी, कृष्णसवरन र विष्णुपुर पनि मतगणना सुरु भएको छ।

पर्साको पर्सागढी नगरपालिका सहित ६ वटा स्थानीय तहमा गणना सुरु भएको छ। वीरगञ्जमा भने बिहानबाट मात्रै गणना सुरु गर्ने तयारी भैरहेको छ।