माओवादी केन्द्रका नेता पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अध्ययनशीलको सूचीमा पर्छन्। लामो समयदेखि कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनी पुस्तक अध्ययनलाई जीवनकै महत्वपूर्ण पाटोका रूपमा हेर्छन्। आख्यानभन्दा गैरआख्यानमा बढी रुचि राख्ने श्रेष्ठ जीवन–जगत् बुझ्न र समाजलाई सही बाटोमा अगाडि बढाउन अध्ययनको निकै ठूलो भूमिका हुने दाबी गर्छन्। श्रेष्ठको ’क्रान्तिकारी मार्क्सवाद र नेपाली क्रान्ति’ पुस्तक प्रकाशित छ। अहिले उनी यसै पुस्तकको दोस्रो भाग प्रकाशन गर्ने तयारीमा छन्। यसका अलावा उनले स–साना अन्य पुस्तक पनि लेखेका छन्।
तपाईंको हातमा अहिले कुन पुस्तक छ?
गिदोन रसम्यानको इस्टर्नाइजेसन अध्ययन गर्दै छु। यसमा पश्चिमा शक्ति कसरी एसियामा सिफ्ट हुँदै छ भन्ने उल्लेख गरिएको छ। एसिया र वेस्टर्नबीच कसरी कन्फ्िलक्ट हुन्छ भन्ने कुरालाई पुस्तकले देखाउन खोजेको छ।
यसअघि कुन पुस्तक पढ्नुभएको थियो?
रिचार्ड पोस्नरको ’क्राइसिस अफ क्यापिटलिस्ट डेमोक्रेसी।’
मनर्पयो कि परेन, किन?
मनर्पयो, किनभने यसमा पछिल्लो आर्थिक संकटबारे उल्लेख गरिएको छ। यसमा अमेरिका तथा विश्वभरबाट प्रजातान्त्रिक पुँजीवाद कसरी संकटमा पर्दै छ भन्ने देखाउन खोजिएको छ।
अब के पढ्ने योजना छ?
युभल नोह हरारीको ’स्यापियन्स अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ पढ्ने योजना छ, तर चुनावका कारण केही व्यस्त भएकाले चुनावपछि मात्र पूर्ण रूपमा अध्ययन गर्छु होला।
कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?
मेरो विचारमा चार–पाँच प्रकृतिका पुस्तक लेखिनुपर्छ। मानिसको जीवन सार्थक बनाउने किसिमका पुस्तक लेखिनुपर्छ। जस्तो, इन्स्टर्न फिलोसफी, त्यस्तै नेपालको इतिहास, राजनीतिक परिवर्तन, विकास र समृद्धिका बारेमा गम्भीर अध्ययन गरेर लेखिनुपर्छ। विश्वव्यापीकरण र पुँजीवादसम्बन्धी बहस तथा मानिसको जीवन अनुभव अर्थात् जीवित मान्छेका उत्प्रेरक कथाबारे पुस्तक लेखिन आवश्यक छ। यस्ता विषय मेरा रुचिका विषय पनि हुन्।
पढेकामध्ये सबैभन्दा मनपरेको पुस्तक? किन?
धेरै पुस्तक अध्ययन गरेकाले एउटा मात्र पुस्तक भन्न गाह्रो छ। तथापि मार्क्स–एंगेल्सको कम्युनिस्ट घोषणापत्र, एंगेल्सको परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति, लेनिनको राज्य र क्रान्ति, माओका विश्वप्रसिद्ध लेख अन्तर्विरोधबारे र व्यवहारबारे लगायत मलाई मनपरेका कृति हुन्। भागवत गीताको सबै कुरामा सहमत हुन नसकेपछि यो निकै राम्रो ज्ञानको भण्डार हो, त्यसैले मनपर्छ।
ओशोको कम्युनिजम् एन्ड जेन फाएर जेन विन्ड, महाऋषि महायोगीको आध्यात्मिक पुस्तक साइन्स अफ बिइङ एन्ड आर्ट अफ लिभिङ, थोमस पिकेटीको क्यापिटल इन द ट्वान्टी फर्स्ट सेन्चुरी, पौल मासनको पोस्ट क्यापिटालिजम्, दारोन एसमोग्लुको ह्वाई नेसन्स फेल र अमर्त्य सेनको डेभलपमेन्ट एज फ्रिडम लगायत अन्य कैयौँ पुस्तक मनपर्छ। समिर अमिनको अ लिभरल भाइरस पनि मनपर्छ। नोम चोम्स्की मनपर्ने लेखक हुन्।
अरुलाई सिफारिस गर्नुपर्दा?
माओका विश्वप्रसिद्ध लेख अन्तर्विरोधबारे र व्यवहारबारे तथा ओसोको कम्युनिजम् एन्ड जेन फायर जेन विन्ड सबैले पढ्दा राम्रो हुन्छ।
नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका?
यहाँ लेखिएका पुस्तक विदेशमा पढिनका लागि किताब अत्यन्तै स्तरीय र आकर्षण हुनुपर्छ। किनभने विदेशी लेखकले लेखेकै पुस्तक पनि आकर्षक र स्तरीय भएन भने पढिँदैन, नेपाली लेखकका पुस्तक विदेशमा पढिनका लागि सामान्य लेखाइ र स्तर मात्रले पुग्दैन। त्यसैले नपढिएको हुन सक्छ। प्रकाशक र एक्पोजरको अभावले पनि नेपाली पुस्तकले विदेशी बजारसम्म पहुँच नपाएको हो कि?
पढ्न मन लागेर पनि नपाएको पुस्तक?
नेपालको इतिहाससम्बन्धी बाबुराम आचार्यको अब यस्तो कहिल्यै नहोस् खोजिरहेको छु तर पढ्न पाएको छैन। एउटा अर्काे आध्यात्मिक कृति पनि छ, टोनी नाडोरको हुमन साइकोलोजी स् एक्सप्रेसन अफ वेदा एन्ड वैदिक लिटरेचर। त्यो पुस्तकका लेखकलाई महेश योगीले लेखककै तौल बराबरको सुन उपहार दिएका थिए। त्यो पुस्तक पनि पढ्नका लागि खोजिरहेको छु। नागरिक दैनिक सग गरीएको कुुराकानीः
पुस्तकसँग तपाईंको साइनो कस्तो छ?
म पहिलेदेखि नै अध्ययनशील व्यक्ति हुँ। मेरो जीवनमा पुस्तक अध्ययन अभिन्न अंग हो। सार्वजनिक जीवनका कारण कहिलेकाहीँ समय व्यवस्थापन गर्न कठिन हुन्छ। तर म यसलाई एउटा महवपूर्ण काम सम्झेर समय व्यवस्थापन गर्छु। सानैदेखि जीवनप्रति आलोचनात्मक सोच र निरंकुश सत्ताका विरुद्ध लड्दा अध्ययन अझ बढी आवश्यक थियो। त्यसैले पहिलेदेखि नै अध्ययन मेरो प्राथमिकतामा र्पयो। अहिले कतै भ्रमणमा जाँदा पनि समय अभाव हुँदा पनि राम्रो पुस्तक पसल खोजिरहेको हुन्छु।
पुस्तक खरिदसम्बन्धी कुनै अविस्मरणीय क्षण छ?
दुई वर्षपहिले भृकुटीमण्डपमा लागेको पुस्तक प्रदर्शनीमा गएर चार–पाँचवटा जति पुस्तक छनोट गरेँ। सामान्य मूल्य त होला भनेर ब्यागमा राखिदिन आग्रह गरेँ तर पुस्तकको मूल्य १५ हजार भनेपछि भने झसंग भएँ। मसँग त्यति धेरै रकम नभएकाले साथीसँग मागेर पुस्तक खरिद गरेँ।
एउटा राजनीतिकर्मीका लागि पुस्तक अध्ययनको कति महत्व हुन्छ?
जीवन, जगत् र समाज बुझ्नका लागि पुस्तक अध्ययन सबैका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। अझ सार्वजनिक जीवन जिउनेका लागि त पुस्तक अध्ययन एउटा महवपूर्ण जिम्मेवारी नै हो। किनभने समाजलाई सही दिशानिर्देश गर्न पर्याप्त अध्ययन आवश्यक हुन्छ। अज्ञानताले समाजलाई सही दिशा निर्देश गर्न सक्दैन।
नेपालको परिप्रेक्ष्यमा राजनीतिक दलका नेताको प्राथमिकतामा पुस्तक अध्ययन पर्छ त?
पर्नुपर्ने हो। किनभने विश्व बुझ्न, विश्वले गरिरहेका पछिल्ला प्रयोगबारे जानकारी राख्दै समयसापेक्ष आफ्नो मुलुकलाई अघि बढाउन पनि अध्ययन नितान्त आवश्यक छ। तर नेपालको राजनीतिक नेतृत्वमा अध्ययन संस्कार निकै कम मात्रामा छ। राजनीतिक नेतृत्वले यसलाई सामान्य रूपमा लिनुहुँदैन। बरु पुस्तक अध्ययनलाई जिम्मेवारीका रूपमा लिनुपर्छ।
पुस्तक व्यवस्थापन कसरी गर्नुहुन्छ?
म आफू भाडामा बस्ने भएकाले भाइको घरमा एउटा कोठा पुस्तककै लागि छुट्याउन लगाएको छु, त्यहाँ मेरो पुस्तकालय छ। आफैँ पनि सानो लाइब्रेरी बनाएर महवपूर्ण पुस्तकको व्यवस्थापन गरिरहेको छु।