नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ

 

भदौ ९, काठमाडौं – भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो। यो खबर दिलीप पौडेलले आजको नागरिक दैनिकमा लेखेका छन्।

नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्य मन्त्री धर्मेन्द्र प्रधानले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालमा सयवटा पम्प खोल्ने प्रस्ताव राखेका हुन्। नेपालको वैदेशिक लगानी नीति विपरित राज्यमन्त्री प्रधानले भारत सरकार स्वामित्वको इन्डियन आयल कर्पोरेशन (आइओसी) मार्फत नेपालमा पम्प सञ्चालन गर्ने प्रस्ताव राखेका हुन्। संविधान संशोधनमा दबाब दिन नेपालमा नाकाबन्दी गरेर पेट्रोलियम पदार्थ रोकेको भारतले इन्धनको खुद्रा ब्यापारमा पनि उपस्थिति जनाउने तयारी गरेको छ। पेट्रोल, डिजेलको खुद्रा व्यापारमा पनि कब्जा गर्ने योजनासहित आइओसीले मुलुकभरका मुख्य राजमार्गमा एक सयवटा अत्याधुनिक पम्प सञ्चालन गर्ने योजना बनाएको छ।