मनसुन पश्चिममा केन्द्रित, बाढीबाट जोगिन मौसम विभागको आग्रह

 

साउन २९, काठमाडौं –  मौसमविद्हरुले आइतबारदेखि मनसुन मध्य र पश्चिम तराईमा केन्द्रित भएको बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले आइतबार बिहानैदेखि पश्चिमका भैरहवा, नवलपरासी, कपिलवस्तु, दाङ, सुर्खेत, नेपालगञ्ज, बर्दिया, कञ्चनपुरतिर मनसुन केन्द्रित भएको बताए । ‘पूर्वी तराईमा मनसुनको असर कमजोर भइसकेको छ,’ मौसमविद् प्रधानांगले आइतबार कान्तिपुरसित भने, ‘मध्य र पश्चिम तराईमा भने आज दिनभरिजसो वर्षा हुने देखिन्छ ।’ केही स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।

शनिबार पनि मध्य तराईको सिमरा, पश्चिमको दाङ, नेपालगञ्जलगायत क्षेत्रमा भारी वर्षा भएको थियो । सिमरामा २१७.२, नेपालगञ्जमा १६९.३ र दाङमा १६७.४ मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ ।

वर्षाका कारण पश्चिमको बबईका ५ वटा नदीहरुमा पानीको सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले ती नदीहरुमा चेतावनीस्वरुप साइरन बजाएको छ । बाढीबाट जोगिन आसपासाका बासिन्दालाई मोबाइल सन्देशसमेत पठाइएको विज्ञ विनोद पराजुलीले बताए । लमहीस्थित् पश्चिम राप्ती, नारायणीको पूर्वी राप्ती, रिउखोलालगायतमा पनि पानीको सतहले खतराको तह पार गरेको छ । अझै पानीको सतह बढ्नसक्ने भएकाले सचेत रहन विशेषज्ञहरुले आग्रह गरेका छन् ।

साभार कान्तिपुर दैनिक