पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिट

 

असार २२ ,सुर्खेत – सुर्खेतको लेकबेँसी नगरपालिकास्थित साटाखानीमा पानी छोइदिएको भन्दै दलित महिलामाथि कुटपिट भएको छ। गैर दलित समुदायका व्यक्तिले धारामा कुटपिट गर्दा २७ वर्षीया टीकाकुमारी मिजार गम्भीर घाइते भएकी छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

साटाखानीस्थित गंगटे निवासी टीकाको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय मनकुमारी राई र उहाँका छोरा मनबहादुर राईले टीकामाथि कुटपिट गरेका हुन्।

कुटपिटका कारण टिकाको टाउको, छाती र शरीरका अन्य भागमा समेत चोट लागेको छ। कुटपिटपछि बेहोस अवस्थामा टिकालाई आफन्तले स्थानीय मेडिकलमा पुर्‍याएका थिए।

नाक र मुखबाट रगत बगेको र होस पनि नखुलेपछि थप उपचारका लागि उनलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो। अस्पतालमा पुर्‍याएपछि मात्र टीकाको होस खुलेको थियो। आफूले धारामा नुहाउँदै गरेको र पानी भर्ने क्रममा गाग्री छोइदिएको भन्दै मनकुमारीका आमाछोरा मिलेर आफूमाथि कुटपिट गरेको पीडित टीकाले बताइन्। टीकाकी आमा दरिशा सुनारले आफ्नी छोरी मृत्युबाट बचेको भन्दै अब स्थानीय प्रशासनले आफूलाई न्याय र दोषीलाई सजाय दिनुपर्ने माग गरिन्।