असार २२ ,काठमाडौं – पार्टी विधानमा गजेन्द्रनारायण सिंहको नाम राख्ने–नराख्ने आन्तरिक विवादले राष्ट्रिय जनता पार्टी बुधबार निर्वाचन आयोगमा दर्ता हुन सकेन। मंगलबार राति सहमति जुटेपछि अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको विधानमा बुधबार बिहान पुनः विवाद निस्किएको हो। विवादकै कारण पार्टी दर्ता हुन सकेन। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
अध्यक्षमण्डका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवको बैठक मंगलबार राति ११ बजेसम्म बसेको थियो। उनीहरूबीच विधानमा गजेन्द्रनारायण सिंहको नाम उल्लेख नगर्ने सहमति भएको थियो।
बुधबार बिहान ११ बजे बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बैठक बसेर दल दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी थियो। त्यसैअनुसार निर्वाचन आयोगलाई खबर पनि गरिएको थियो। तर, बुधबारको बैठकको सुरुमै अनिल झाले विधानको प्रस्तावनामा गजेन्द्रनारायण सिंहको नाम उल्लेख गर्नुपर्ने अडान राखे। त्यसमा राजकिशोर यादवले पनि साथ दिए।
बैठकमा महेन्द्र राय यादवले भने सिंहको नाम विधानमा उल्लेख गर्न नसकिने अडान राखे। विधानको प्रस्तावनामा नेताको नाम राख्ने प्रचलन नभएको उनको तर्क थियो। सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको स्कुलिङबाट आएका राजेन्द्र महतो भने विवादमा मौन बसे। ढिलो गरी बैठकमा उपस्थित भएका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर पनि पक्ष–विपक्षमा बोलेनन्।
विवाद भएपछि बुधबारको बैठक विनानिष्कर्ष सकिएको छ। बिहीबार थप छलफल गरेर टुंगोमा पुग्ने नेताहरूले बताएका छन्। ‘पार्टीको विधान र घोषणापत्रलाई अन्तिम रूप दिनेबित्तिकै पार्टी दर्ता गर्छौँ,’ बैठकमा सहभागी नेता महतोले भने, ‘मधेस आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने नेताको नाम त राख्नुपर्ने हुन्छ।’ नेता राजकिशोर यादवले भने राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्ने विकल्पका रूपमा कसरी खडा हुने भन्नेबारे बैठकमा छलफल भइरहेको बताए।
राजपा नेता हृदयेश त्रिपाठी पार्टीका पछिल्ला गतिविधिबाट सन्तुष्ट छैनन्। पार्टी दर्तामा ढिलाइ गर्र्नु र नारायणी नदीपश्चिमको निर्वाचनमा भाग लिएका नेताहरूलाई पार्टीले वातावरण नबनाएको उनको गुनासो छ। उनी पछिल्ला दिनमा पार्टीको बैठकमा पनि सहभागी भएका छैनन्। ‘पार्टी दर्ता र निर्वाचनको विषयमा मेरा केही गुनासा छन्,’ नेता त्रिपाठीले भने।
२४ सांसद छन्। कांग्रेस, एमाले, माओवादी र राप्रपापछिको पाँचौँ ठूलो दलका रूपमा चिह्न दिने निर्वाचन आयोगको तयारी छ। तत्कालीन तमलोपाका ११, सद्भावनाका ५ (एक निलम्बित), तमसपाका ३, रामसपाका ३ सांसद छन्। त्यस्तै, संघीय सद्भावना पार्टी र फोरम गणतान्त्रिकका एक–एक सांसद् छन्। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १५ सांसदसहित छैटौँ स्थानमा छ।