प्रधानमन्त्रीको जिल्लामा कांग्रेस एउटा नगरपालिकामा विजयी

असार १८, डडेलधुरा – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली कांग्रेस एउटा नगरपालिकामा विजयी भएको छ।

केहीबेर अघि सार्वजनिक भएको मतपरिणाम अनुसार परशुराम नगरपालिकामा कांग्रेसले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको हो।

मेयरमा कांग्रेसका भीमबहादुर साउद ४ हजार ६ सय २९ मत ल्याएर विजयी भएका हुन भने उपमेयरमा कांग्रेसकै कलावती बोहाराले ४ हजार २ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत नारायणप्रसाद वाग्लेले सेतोपाटीलाई बताए ।

यो नगरपालिकामा नेकपा माओवादी केन्द्रले लगातार अग्रता कायम गरेको थियो । नगरपालिकाका १२ वडामा माओवादी केन्द्रले ६ वटा वडामा विजय हासिल गरेको छ ।कांग्रेस ४ वटा वडा र एमाले २ वटा वडामा विजयी भएको छ।