राजपा नेपालले गर्‍यो आजदेखि चार दिनसम्म तराई मधेस बन्द, जनजीवन प्रभावित

जेठ ३० ,काठमाडौं – राजपा नेपालले मंगलबार जनकपुरलगायत तराई मधेस बन्द गरेको छ । सरकारले आगामी असार १४ गते तय गरेको चुनाव विथोल्न राजपा नेपाल सम्बद्ध संघीय गठबन्धनले मंगलबारदेखि चारदिनसम्म मधेस, थरुहट र लिम्बुवान बन्दको घोषणा गरेको हो ।
राजपा नेपालका नेता कार्यकर्ताले बिहानैदेखि हात हातमा लाठी लिइ ठाउँ ठाउँमा टायर बालेर नाराबाजी गर्दै यातायात, शिक्षण संस्था, कलकारखाना, व्यापारव्यवसाय, बजार बन्द गराएका छन् । बन्दको कारण धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायत तराई मधेसका जिल्लाको जनजिवन प्रभावित भएको छ । यातायात बन्दले यात्रुहरु समस्यामा परेका छन् ।
बन्दको पूर्व सन्ध्यामा सोमबार बेलुका राजपा नेपालका नेता कार्यकर्ताले तराई मधेसका जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गरेका थिए ।

संविधान संशोधन नगरी सरकारले चुनाव गराउन लागेको भन्दै राजपा नेपाले त्यसलाई विथोल्न गएको आइतबार नै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । जसमध्ये जेठ ३० गतेदेखि असार २ गतेसम्म निरन्तर चार दिन मधेस, थरुहट र लिम्बुवान बन्दको घोषणा गरेको छ । बन्दको क्रममा राजपा नेपालले हरेक स्थानीय तहमा निर्वाचनविरुद्ध माइकिङ गर्ने, तालाबन्दी गर्ने र लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।