संविधान निमार्ण मेरो मुख्य प्राथमिकता : ओझा

९ असार, कैलाली ।

आइतबार सम्पन्न कैलाली निर्वाचन क्षेत्र नम्बर ६ को उपनिर्वाचनमा विजयी नेपाली काँग्रेसका पुष्करनाथ ओझाले निर्धारित समयमै लोकतान्त्रिक संविधान निर्माण गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् । नेता ओझाले आफ्नो जित सम्पूर्ण लोकतन्त्रवादीको जित भएको बताउँदै पार्टीको नीति र सिद्धान्त बमोजिम तन मन सहित छिटोभन्दा छिटो लोकतान्त्रिक संविधान निर्माणमा आफू  समर्पित हुने बताए  । धनगढी सहरलाई आधुनिक सहरमा रुपान्तरण गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउँदै उनले यस क्षेत्रका दुई गाविस उर्मा र फूलबारीलाई पनि नमुना गाविसका रूपमा विकास गरिने जानकारी दिए  ।

आइतबार सम्पन्न उपनिर्वाचनमा ओझा १४ हजार ७८४ मत प्राप्त गरी विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश्वर पाठकले ११ हजार ९५९ मत प्रप्त गरेका थिए । नेपाली काँग्रेसका उम्मेदवारको विजयीलगत्तै काँग्रेस कार्यकर्ताले धनगढी नगरमा हजाराँै मोटरसाइकसहितको विजय जुलुस निकाल्नुका साथै अबिरका साथ खुसियाली साटेका छन् ।

आज बिहान मात्रै आएको मत परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्र्टी नेपालका राजेश भण्डारीले चार हजार ३६७ मतका साथ तेस्रो, फोरम लोकतान्त्रिकका लक्ष्मण थारू तीन हजार ५८९ मतका साथ चौथो र एनेकपा (माओवादी)का सुन्दरराज रेग्मी एक हजार ७६६ मतका साथ पाचौँ भएको जिल्ला निर्वाचन कार्यालय कैलालीले बताएको छ । कुल ६१ हजार ८१७ मतदाता रहेको यस क्षेत्रमा ३९ हजार ६६३ मत अर्थात् ६४.१६ प्रतिशत मत खसेको थियो भने विभिन्न दलका १५ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।