थरुहट र मधेस आन्दोलनका मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

जेठ ४, काठमाडौं–स्थानीय चुनावमा मारिएका दुईजनालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शहीद घोषणा गरेको छ । दोलखा जिल्लाको जुगुमा मारिएका कुलबहादुर तामाङ र काभ्रे जिल्लाको नमोबुद्धमा मारिएका नवराज पाठकलाई शहीद घोषणा गर्दै राहत रकम दिने निर्णय गरेको हो ।
बैशाख ३० गते राति नमोबुद्धमा पाठकलाई गोली हानेर अज्ञात समूहले हत्या गरेको थियो । उनको हत्या पछि नमोबुद्धको जनक मावि केन्द्रमा स्थानीय चुनाव स्थगित गरिएको थियो । उता माओवादी कार्यकर्तासँग झडप हुँदा जुगुमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।
शहीद घोषणा गरिएका परिवारलाई १० लाख रुपैयाँ राहत दिने र मृतकका छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलन र थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्दै त्यसमा संलग्नहरु विरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
यसै गरि सरकारले सेना तथा प्रहरीले सञ्चालन गरेको स्वास्थ्य संस्थामा आम नागरिकलाई सेवा दिने निर्णय पनि गरेको छ ।