काठमाडौँमा भुमिगत विद्युत प्रणाली

वैशाख १३, काठमाडौँ । काठमाडौँको महाराजगञ्ज र रत्नपार्कमा भुमिगत विद्युत प्रणाली सुरु गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले एशियाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा भुमिगत विद्युत प्रणाली विकास गर्न लागिएको हो । यसका लागि महाराजगञ्ज क्षेत्रमा २ अर्ब ५० करोड र रत्नपार्क क्षेत्रका लागि करीब ३ अर्ब बजेट छुट्याइएको प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ।
यो कार्यक्रमका लागि ठेकेदार छनोट गर्न आवश्यक बोलपत्र आह्वानका लागि तयारी भइरहेको छ । अबको एक–डेढ महीनामा महाराजगञ्ज क्षेत्रको बोलपत्र आह्वान भइसक्ने र त्यसको करीब १ महीनामा रत्नपार्क क्षेत्रका लागि बोलपत्र आह्वान हुने निर्देशनालयले जनाएको छ । अहिलेसम्म भुमिगत विद्युतीकरणको प्रारम्भिक अध्ययनमात्र भएको छ ।
विद्युत् वितरणका लागि सडकका पेटीमुनि अन्तरराष्ट्रिय मापदण्डको सुरक्षा व्यवस्था रहेको तार बिछ्याइने प्राधिकरणले बताएको छ । अहिले प्राधिकरणले विद्युत् वितरण गरिरहेका खम्बाहरूकै प्रयोग गरी टेलिकम, केबल लाइन तथा इण्टरनेट सेवाप्रदायकका तार लगिएका छन् ।