नोरालाई

अभय श्रेष्ठ

तिमीलाई गुलाबको सुन्दर पूmलभन्दा
बढी देख्नै चाहन्नन् उनीहरू नोरा ।

तिम्रो आवाजलाई बाहिर आउन नदिन
तिम्रो यात्रालाई
घर्षणभन्दा बढी हुन नदिन
तिम्रो विचारलाई
युवक लठ्याउने सुरिलो वाणीभन्दा बढी हुनै दिँदैनन् ।

तिमीलाई उत्तेजक वक्ष
उत्तेजक नितम्ब
उत्तेजक कामुक आँखा
र भुतुक्कै पार्ने गरी मुस्कान छाड्ने रूपवतीभन्दा बढी
केही केही देख्न चाहन्नन् उनीहरू, नोरा ।

यौवन सकिएपछि
आइमाईका सबै कुरा सकिन्छन् भन्ने
गोप्य घोषणापत्र जारी गर्न
तिम्रो शिरलाई
पानीमा हवाईजहाजको छायाँ हेर्न
र, ऐनामा शृंगार जाँच्नभन्दा बढी अनुमति दिँदैनन् ।

पानीमा हवाईजहाजका छायाँ हेरिरहेका
तिम्रा आँखा
जब उचालिन्छन्
तिनको छैटौँ इन्द्रीय
सहस्र षड्यन्त्र गर्न थाल्छ
ए, स्वास्नीमान्छेहरूकी नायिका,
घस्रिरहेका तिम्रा पाइला
जब हिँड्न थाल्छन्
आकाश खसेझैँ उनीहरू आत्तिन्छन्
चिच्याउँछन् र चिच्याइरहन्छन् ।

जब एउटी नारी नोरा भएर उभिन्छे
खोलावारि किनारामा उभिएर
उनीहरू तिमीसँग
प्यारको, घरबारको र सुखी संसारको याचना गर्छन् ।

यो आगोजस्तो गीत तिमीलाई थमाउँछु
यो फूलजस्तो प्रीत तिमीलाई थमाउँछु
स्वास्नीमान्छेलाई माया गर्न नसक्नेहरू तिमीसँग डराउँछन् नोरा ।