निजी विद्यालयको शुल्क घटाउन विद्यार्थी संगठनको माग

बैशाख ५, काठमाडौँ । विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले बढाएको शुल्क तत्काल घटाउन माग गरेका छन् । विभिन्न विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त रुपमा शिक्षा मन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाउदै तीन भित्र शुल्क घटाउन पहल गरिदिन माग गरेका हुन् ।
यस अघि सर्वाेच्च अदालतले समेत सम्बन्धित निकायबाट पूर्ण स्वीकृत नगराई कुनै पनि शुल्क लिन नपाइने, एक पटक निर्धारण गरेको शुल्क तीन वर्षसम्म बढाउन नपाइने र तीन वर्षसम्म बढाउन स्वीकृती समेत दिन नमिल्ने आदेश दिए पनि त्यसको अवज्ञा गर्दै शुल्क बढाइएको आरोप विद्यार्थीहरुले लगाएका छन् ।
अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), तराई मधेस विद्यार्थी फ्रन्ट, अनेरास्वियु (छैटौं), राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौ) र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै संविधानले व्यवस्था गरेको शिक्षाको मौलिक अधिकारको समेत बेवास्था गरिएको भन्दै शुल्क तत्काल घटाउन माग गरेका हुन् ।
शिक्षा क्षेत्रमा हुने गरेको ब्यापारिकरण बन्द गरी अबको तीन दिन भित्र शुल्क नघाटाइए विद्यार्थी संगठनहरुले कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।