राष्ट्रपति भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत

बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गर्नु भएको छ । भारतको राष्ट्रपति भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जानकारी दिनु भएको छ । राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गर्नु भएको हो ।  राष्ट्रपतिसँग भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भवनमै भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीको सम्मानमा आज बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो ।
त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गर्नु भयो । त्यस्तै १० बजे यमुना जैविक विविधता पार्कको अवलोकन गर्नु भएको छ । राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नु भएको छ ।