मलाई थाहा थियो, मैले उपचार गरेको बिरामी अब बाँच्दैन। उसलाई पनि थाहा थियो, अब ऊ मृत्युबाट टाढा छैन। त्यसका लागि उसले महिनौं वा वर्षौं पनि कुर्नुपर्ने छैन। भोलि नभए पर्सि त उसको मृत्यु पक्का थियो।
के म उसको यो अवस्थाबारे कसैलाई खबर गरुँ? के ऊ मृत्युअघि कसैलाई भेट्न चाहन्थ्यो? ‘अहँ, मेरो कोही छैन,’ उसले मलाई भन्यो।
हुन पनि उसको परिवारको सदस्य वा आफन्त कोही थिएन। निकट मित्रहरू पनि थिएनन्। सायद, दक्षिणको कुनै ठाउँमा बस्ने एक भतिजी थिइन्, तर वर्षौं भइसकेको थियो, आफ्नै भतिजीसँग उसको कुनै सम्पर्क नभएको।
मृत्युको आभास पीडादायक हुन्छ। तर, उसको जीवनमा मृत्युको वेदनासमेत बिर्साउने झनै पीडादायक अर्को कुरा थियो, त्यो हो उसको एक्लोपन। उमेर नपुग्दै ऊ यस्तरी मृत्युको नजिक पुग्नुमा उसको रोग मात्र जिम्मेवार थिएन। त्योभन्दा कयौं गुणा बढी उसको एक्लोपन जिम्मेवार थियो भन्ने मलाई लागेको थियो।
म प्रत्येक दिन जीवन–मृत्युका यस्तै उतारचढाव हेर्छु। अफिमको कुलतबाट छुटकारा पाउन संघर्ष गर्ने क्रममा आफ्ना साथीबाट एक्लिएको एक युवक र चिया–पाउरोटीमा आश्रित एक वृद्ध महिलाको जीवन नियाल्छु। ती महिला आफ्नो कोठाधरि सफा गर्न र मिलाउन सक्ने अवस्थामा छैनन्। उनी बिल्कुलै एक्ली छिन्।
त्यस्ता क्षणमा मलाई लाग्छ, गम्भीर रोगबाट मानिसलाई जति पीडा हुन्छ, त्योभन्दा बढी पीडा गम्भीर रोगसँग एक्लै जुध्दा हुन्छ।
समाजमा एक्लोपनको समस्या बढ्दै गएको छ। एक्लोपनले गम्भीर शारीरिक, मानसिक र भावनात्मक समस्या ल्याउनेमा अनुसन्धानकर्ताहरू सहमत छन्। अमेरिकामा सन् १९८० को दशकदेखि आफूलाई एक्लो ठान्ने वयस्कको संख्या २० प्रतिशतबाट बढेर ४० प्रतिशत पुगेको छ। ६५ वर्षभन्दा बढी उमेरका अमेरिकीमध्ये झन्डै एकतिहाइ एक्लो जीवन बाँच्छन्। ८५ वर्षभन्दा माथिका आधा जनसंख्याले एक्लो जीवन बिताउँछन्।
डिप्रेसन, चिन्ताजस्ता चाँडो मुड परिवर्तन हुने समस्या भएका मानिस झनै एक्लोपनबाट ग्रसित हुने सम्भावना हुन्छ। कलेजसम्मको अध्ययन नगरेका मानिसलाई त आफ्नो व्यक्तिगत कुरा सुनाउने साथी पाउन झनै गाह्रो हुने देखिएको छ।
सामाजिक एक्लोपनले हाम्रो जीवनमा पार्ने नकारात्मक प्रभावबारे विभिन्न अध्ययन भएका छन्। सामाजिक सम्बन्ध कमजोर भएका व्यक्तिको निद्रा खराब हुने, रोग प्रतिरोधात्मक क्षमतामा बदलाव आउने, शरीरमा जलन हुने र तनाव बढाउने हर्मोन धेरै हुने देखिएको छ। एक नयाँ अनुसन्धानअनुसार एक्लोपनबाट पीडित मानिसलाई हृदयरोग हुने सम्भावना २९ प्रतिशत र घात हुने सम्भावना ३२ प्रतिशत बढी हुन्छ।
अर्को एक विश्लेषणअनुसार सामाजिक रूपले एक्लिएको व्यक्ति आगामी ७ वर्षमा मर्ने सम्भावना सामान्य मानिसभन्दा ३० प्रतिशत धेरै हुन्छ। ३४ लाख मानिसको तथ्यांक र ७० वटा अध्ययनको उक्त निचोडअनुसार अधबैंसे उमेरमा त्यस्तो सम्भावना अझ धेरै हुन्छ। एक्लोपनका कारण वयस्कको बौद्धिक क्षमतामा गिरावट आउने र असामयिक निधन हुने समस्या सामान्य व्यक्तिभन्दा दुई गुणा बढी हुने देखिएको छ।
एक्लोपनको असर सानै उमेरदेखि सुरु हुन्छ। सामाजिक रूपले बालबालिका एक्लिएका छन् भने २० वर्षपछि उनीहरूको स्वास्थ्यमा समस्या देखिने सम्भावना हुन्छ। एक्लोपन मानिसको असामयिक निधनका लागि त्यति नै जिम्मेवार हुन्छ, जति मोटोपन र धूमपान हुन्छ।
एक्लोपनका कारण मानिसले भोग्ने शारीरिक तथा मानसिक समस्याबारे हामी प्रस्ट छौं। तर, त्यसको प्रभाव कसरी रोक्ने भन्नेबारे हामी प्रस्ट छैनौं।
एक्लोपन अत्यन्तै जटिल समस्या हो, किनकि म एक्लो छु भनेर स्वीकार गर्न वा कसैलाई भन्न सजिलो हुँदैन। म एक्लो छु भनेर स्वीकार्दा प्रेम, माया, आफ्नोपनजस्ता जीवनका आधारभूत कुरामा समेत असफल भएँ भनेर ग्लानि हुनसक्छ। आफ्नो क्षमता र स्वाभिमानमाथि प्रश्नचिह्न लागेको भान हुन्छ। त्यसकारण उक्त समस्याबाट मुक्तिका लागि अरूबाट सहयोग लिन हामीलाई कठिन हुन्छ।
विदा वा उत्सव बेला अस्पतालमा उपचार गराइरहेका बिरामी हेर्दा म त्यस्तो अवस्था प्रस्ट देख्छु। त्यस्ता बिरामीमध्ये केही सलाइन–पानी चढाउने खम्बासँग जोडिएका हुन्छन्, जहाँ आफन्त वा शुभेच्छुक कोही हुँदैनन्। कोठाहरू रित्ता लाग्छन्। भित्तामा टाँसिएका टेलिभिजनका पर्दामा क्रिसमस कार्यक्रम चल्दा उनीहरूमा एक्लोपनको आभास झनै तीव्र भएर जान्छ। विदा वा उत्सवको समय झनै एक्लो, झनै निरास र झनै असन्तोष महशुस हुने भुक्तभोगीहरू बताउँछन्।
नयाँ अध्ययनअनुसार कमजोर सामाजिक अन्तक्र्रियाको कला वा सामाजिक सहयोगको कमीले मात्र मानिसलाई एक्लो बनाउँछ भन्ने छैन। एक्लोपनको आंशिक कारण भनेको सामाजिक सूचनाप्रति देखाइने असामान्य प्रक्रिया हो।
एक्लो महशुस गर्ने मानिस विभिन्न अर्थ लाग्ने सामाजिक सूचनालाई नकारात्मक अर्थमा बुझ्ने गर्छन् र आत्मरक्षाको मानसिकता विकास गर्छन्। त्यसले समस्यालाई झनै बिगार्ने काम गर्छ।समाजमा एक्लोपन सरुवा रोगजस्तै सर्दै जाने पनि हुनसक्छ। जब कुनै एक व्यक्तिले एक्लोपन महशुस गर्छ, ऊ आफ्नो सामाजिक वृत्तबाट बाहिरिन्छ। अनि अरू व्यक्ति पनि त्यस्तै गर्न बाध्य हुन्छन्।
सिकागो विश्वविद्यालयका मनोविद् डा. जोन कासिओपोले एक्लोपनको उपचारमा धेरै विधि परीक्षण गरेका छन्। उनका अनुसार एक्लोपनको उपचारमा सबैभन्दा प्रभावकारी तरिका भनेको त्यस्ता मानिसले कसरी सामाजिक अन्तक्र्रिया गर्दैछन् भन्नेबारे उनीहरूले पुनर्विचार गरुन् र सामाजिक सूचनालाई सही ढंगले बोध गरुन् भनेर सहयोग गर्नु हो।
वृद्ध अवस्थामा हुने एक्लोपनका छुट्टै कारण हुन्छन्। आफ्नो परिवारका सदस्य छुट्टिएर टाढा जानु वा निकट मित्रको देहान्तजस्ता कारण हुन सक्छन्। जस्तो, एक वृद्धले भनेका थिए, ‘तिमी मर्नुअघि नै तिम्रो संसार मरिसकेको हुन्छ।’
ज्ञाताहरू भन्छन्, छिमेकी र समुदायले त्यस्ता वृद्ध मानिसको ख्याल गर्न र उनीहरूको एक्लोपन घटाउन सहयोग गर्न सक्छन्। यातायातमा उनीहरूको पहुँच सुनिश्चित गरेर उनीहरूलाई सहयोग गर्न सकिन्छ। उनीहरू धार्मिक प्रकृतिका छन् भने धार्मिक कार्यक्रममा जान प्रोत्साहन गर्न सकिन्छ, जहाँ उनीहरूले आफूलाई सामुदायिकता र आध्यात्मिकताको महशुस गर्न सकुन्। घरपालुवा जन्तु मन पराउने मानिसले त्यस्तै जन्तुको साथमा रमाइलो मान्न सक्छन्। वृद्ध व्यक्तिका छोराछोरी वा नातिनातिना टाढा भएको समयमा छिमेकीलाई कहिलेकाहीँ हेरिदिनु भनेर भन्न सकिन्छ।
एक्लोपनको समस्या बढ्दै जाँदा अहिले सामाधानका निम्ति कार्यक्रम पनि बन्दैछन्। उदाहरणका लागि, अल्टो मेडिकल फाउन्डेसनका डा. पउल टांगले ‘लिंक–एजेज’ भन्ने कार्यक्रम सुरु गरेका छन्। सबै मानिससँग अरूलाई केही न केही दिन सक्छन् भन्ने मान्यताका आधारमा उक्त कार्यक्रम सुरु गरिएको हो।
उक्त कार्यक्रमअन्तर्गत मानिसले आफूलाई कुन सहयोग चाहियो भनी अनलाइनमा लेख्छन्। उदाहरणका लागि, बगैंचाको काम गर्न सहयोग चाहियो भनेर कुनै वृद्धाले अनलाइनमा लेखेको कुरा एक कलेज पढ्ने छात्राले पढ्छिन् र त्यसपछि वृद्धाको बगैंचामा गएर सहयोग गर्छिन्। त्यसको केही महिनामा ती छात्रालाई मलेसियन परिकार बनाएर आफ्नो प्रेमीलाई खुवाउन मन लाग्यो। अब उनले बगैंचामा काम गरेको बदलामा कुनै अवकाशप्राप्त ‘सेफ’ ले उनलाई मन परेको परिकार बनाउन सहयोग गर्छ।
‘अमेरिकामा तपाईंलाई आफ्नो छिमेकीको ढोका ढक्ढक्याउन कुनै न कुनै बहाना चाहिन्छ,’ डा. टांग भन्छन्, ‘त्यस्तो पर्खाल हामी भत्काउन चाहन्छौं।’
क्यालिफोर्निया राज्यमा उक्त कार्यक्रममा सयौं सदस्य छन् र त्यसलाई रोबर्ट उड जोन्सन फाउन्डेसनको सहयोगमा अन्य राज्यमा समेत विस्तार गर्ने कार्यक्रम छ।
डिजिटल युगले निर्माण गरेको सञ्जालको अर्को पक्ष भनेको हामी एकअर्काबाट टाढा भाग्दैछौं। तर, अध्ययनहरूले देखाएका छन्, हामी एकअर्कासँग जोडिएर मात्र शारीरिक र मानसिक रूपले स्वस्थ हुन सक्छौं। ओइलाउँदै गएका सम्बन्धलाई सुरक्षित राख्ने जिम्मेवारी डाक्टर, बिरामी, छिमेकी समुदाय लगायत हामी सबैको हो। हामीबीच त्यस्ता सम्बन्ध पहिले थिएनन् भने नयाँ सम्बन्ध निर्माण गर्नु हाम्रो कर्तव्य भएको छ।
(लेखक मसाचुसेट्स जनरल हस्पिटल र हार्वार्ड मेडिकल स्कुलका रेजिडेन्ट डाक्टर हुन्।)
ध्रुव खुलार (न्यूयोर्क टाइम्स)