जेठ २१, काठमाडौ– विश्व व्यापार सङ्गठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो आजेभेडो एक दिने नेपाल भ्रमणमा आज काठमाण्डौ आउदै हुनुहुन्छ । अति कम विकसित राष्ट्रको समस्या बुझ्ने सिलसिलामा रोबर्टो नेपाल भ्रमणमा आउन लाग्नुभएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । विश्व व्यापार सङ्गठनका सर्वोच्च अधिकारीले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो । भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासाग भेटवार्ता हुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिनुभयो ।