भारतमा पैसा साट्न लाइन बसेका २ को मृत्यु

कार्तिक २७, काठमाडौं – भारतमा पाँच सय र हजार रुपैयाँको नोट साट्न शुक्रबार लाइनमा बसेका दुई बृद्ध व्यक्तिको निधन भएको छ। गत मंगलबार भारतीय सरकारले रातिको १२ बजेदेखि पाँच सय र हजारको नोट नचल्ने घोषणा गरेपछि पैसा साट्न बैंकमा लामो लाइन लाग्दै आएको छ।

सरकारले १० दिनभित्र दैनिक आवश्यक सामान खरिद गर्नका लागि पाँच सय र हजार रुपैयाँको नोट साट्न सर्वसाधारणलाई मौका दिएको छ। बाँकी रकम बैक दाखिला गरेर सटही गर्न सक्ने छन्। सरकारले कालो धन र नक्कली रुपैयाँमाथि नियन्त्रण गर्न यस्तो कदम उठाउनु परेको बताएको छ। जसअन्तर्गत साढे २ लाख रुपैयाँभन्दा बढी रकम बैंकमा दाखिला गर्ने व्यक्तिहरूले आफ्नो आय श्रोत सार्वजनिक गर्नु पर्ने बताइएको छ।
पैसा साट्न गत मंगलबारदेखि नै भारतका सबै राज्यका बैक तथा डाकघरहरूमा ठूलो भीड लाग्ने गरेको छ। मुम्बई राज्यको थाणेस्थित एउटा बैकमा पैसा साट्न लाइनमा बसेका ७३ वर्षीय विश्वनाथ वर्तक र केलरमा ७५ वर्षीय कार्तिकेयनको निधन भएको बताइएको छ।
प्रहरीका अनुसार पूणेको मुलुन्डको नवघरस्थित सिबिआई बैकको शाखामा लाइन लागिरहेका विश्वनाथ एक्कासी भूइँमा लड्न पुगेका थिए। उनको घटना स्थलमै निधन भएको थियो। उनी लामो समयदेखि लाइनमा उभिएका थिए। अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो।
यस्तै, केरलको अलप्पुझाको हरिपदस्थित कुमारपुरममा कार्तिकेयन स्टेट बैक अफ त्रावणकोरको शाखामा लाइनमा बसेका थिए। अचानक उनी त्यही मुर्छा पर्न पुगेपछि उनलाई अस्पताल लगिएको थियो। जहाँ उनलाई हदयघातका कारण निधन भएको चिकित्सकहरूले पुष्टी गरेका थिए।