कार्तिक १२ , काठमाडौँ – मधेसी मोर्चासहितको संघीय गठबन्धनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुको औचित्य पुष्टि हुनुपर्ने भन्दै यो विषय अदालतले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ ।
विहीबार राजधानीमा बसेको गठबन्धनको बैठकले विगतमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउनुको कारण र अहिले आएर उनीमाथि महाअभियोग लगाउनुको कारण स्पस्ट पार्न प्रमुख दलहरुलाई आग्रह गरेको छ ।
अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनुअघि र लगाइसकेपछि पनि दलहरुले आफूसँग यो विषयमा कुनै छलफल नगरेको भन्दै गठबन्धनले आपत्ति जनाएको छ ।
त्यसैले कार्कीमाथिको महाअभियोगको पक्ष/विपक्षमा आफूहरुले तत्काल केही धारणा सार्वजनिक नगर्ने भन्दै अदालतमा विचाराधीन अवस्थामा रहेको यो विषयको टुंगो अदालतबाटै लगाउनुपर्नेमा गठबन्धनले जोड दिएको छ ।
बैठकले विगतमा सरकार गठनकाबेला आफूहरुसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनका लागि पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार उदासीन रहेको निष्कर्षसमेत निकालको छ ।
छठपर्वसम्म पनि आफूहरुको माग पूरा नभए छठलगत्तै आन्दोलनको तयारी गर्ने निर्णय पनि विहीबारको बैठकले गरेको बैठकमा सहभागी तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले हामीलाई जानकारी दिए ।
यस्तै, बैठकले तत्काल संविधान संशोधन गरी आफूहरुले उठाएको माग पूरा गर्न सरकारलाई आग्रह गर्दै संविधान संशोधनबिना विभिन्न निकायको चुनाव असम्भव भएको बताएको छ ।
गठबन्धनमा विभिन्न आदिवासी जनजाति सम्बद्ध राजनीतिक दल र मधेस केन्द्रीय राजनीतिक दलहरु सम्मिलत छन् ।