साउन २३,काठमाडौँ – भारतीय राजदूत रन्जित रायले भारतको योजनामा आफू प्रधानमन्त्रीबाट बाहिरिनु परेको सांकेतिक गुनासो गर्दै आएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भेट गरेका छन् ।
ओलीलाई भेट्न भारतीय राजदूत एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए । ओली र राजदूतबीचको वार्तामा २ देशबीचका पछिल्लो सम्बन्ध र विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको एमाले प्रचार विभाग सचिव बिष्णु रिजालले जानकारी दिए ।
राजदूत राय र ओलीबीच भएको कुराकानी बाहिर ल्याइएको छैन । यद्यपि नेपालको सरकार परिवर्तनमा भारतीय चलखेलप्रति असन्तुष्ट छन् ।
ओलीले केही दिनअघिमात्रै छिमेकीले ‘छौंडा’ खेलाएर आफूलाई काम गर्न नदिएको बताएका थिए । ओलीले पछिल्लो समय बनेको कांग्रेस माओवादी गठबन्धनलाई भारतको डिजाइनमा बनेको संकेत गर्दै आएका छन् ।
ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि भारतीय राजदूतले भेटेको यो पहिलो पटक हो । यसअघि ओली प्रधानमन्त्री रहेका बेला भारतीय राजदूतले भेट गर्ने समय कमै मात्र पाउने गरेका थिए ।
ओली प्रधानमन्त्रीबाट बाहिरिएको भोलिपल्टै चीनका राजदूत उ चुन्ताइ भने उनलाई भेट्न बालकोट निवासमै पुगेका थिए । चीनका राजदूत र ओलीबीच घनिष्ठ सम्बन्ध रहेको स्रोतहरु बताउँछन् ।