साउन १८, काठमाडौं – प्रा.डा.गोविन्द केसीले संसदको सुशासन समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको मतियार बनेको आरोप लगाएका छन्। समितिले आफूलाई बोलाएको उल्लेख गर्दै उनले कार्कीलाई बोलाउन सकेमात्र आफू पनि उपस्थिति हुने बताएका हुन्।
‘मलाई सुशासन समितिले बुधबार आउन सक्नु हुन्छ भनेर बोलाएको छ। तर,समितिले सात दिन बितिसक्दा पनि लोकमानलाई उपस्थित गराउन सकेको छैन,’ केसीले भने,‘उपसमितिका मान्छेहरु लोकमानकै बचाउमा लागिरहेका छन्।’ संसदको सुशासन समिति मुलुकको सबै अंगले काम गरको छ वा छैन यसको अनुगमन गर्नुका साथै निर्देशनसमेत दिन सक्ने निकाय हो।
उनले आफ्नो स्वास्थ्यस्थिति समेत बताउँदै ‘लोकमानलाई बोलाउन सक्नु हुन्न, मलाई बोलाएर के अर्थ हुन्छ ?’ भनि प्रश्न गरेको बताए।अख्तियार प्रमुख कार्कीले समितिले बोलाएपछि घाँटीमा संक्रमण भएको भन्दै एक साता आराम गर्नु परेको पत्र पठाएका थिए।