दोलखा, २६ असार – नक्कली सुन सहित जिल्ला प्रहरी कार्यलय दोलखाले चार जनालाई पक्राउ गरेको छ ।
नक्कली एक किलो सुन देखाई रु १५ लाख ठगी गर्ने सिन्धुपाल्चोकका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । सिन्धुपाल्चोक गाती– ७ का दावा ग्याल्जेन शेर्पा र गोपाल श्रेष्ठ, बाह्रबिसे –४ का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सोही घटनामा थप चार देखि पाँचजना फरार छन् । गत वैशाख २१ गते भीमेश्वर नगरपालिका –७, जिलु घर भई हाल भीमेश्वर नगरपालिका– १ बसपार्कमा फेन्सी व्यवसाय गरी बसेकी मेनुका चौलागाईंलाई प्रलोभनमा पारी अभियुक्ते रु १५ लाख ठगी गरेको दोलखा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुलाई गत शुक्रबार पक्राउ गरी दोलखा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएकोे छ । अभियुक्त सङ्गठित सुन तस्करीमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुविरुद्ध सङ्गठित ठगीको महल अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।