राजनीतिक पद्धति अझै स्थापित हुन सकेन’

नेपालगन्ज, १४ असार – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधानमा भनिएअनुसार मुलुकमा राजनीतिक पद्धति अझै स्थापित हुन नसकेको बताउनुभएको छ ।

पैसठ्ठीऔँ मदन भण्डारी जयन्तीका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र आर्थिक, सामाजिक रुपान्तरण अबको वाटो’ विषयको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानले निर्दिष्ट गरेको राजनीतिक पद्धतिलाई संस्थागत गर्न स्थानीय, प्रान्तीय र केन्द्रीय गरी तीन तहको निर्वाचन हुन आवश्यक छ ।”

लोकतान्त्रिक, देश भक्तिपूर्ण, प्रगतिशील र समाजवाद उन्मुख अहिलेको संविधानको चरित्र भएको बताउँदै उहाँले यही चरित्रलाई आत्मसात् गरेर नै मुलुकलाई आर्थिक समृद्धि र विकासका बाटोमा डो¥याउन सकिन्छ भन्नुभयो ।

यसैबीच, सोही दिवसका अवसरमा आज यहाँ एमाले बाँकेले आयोजना गरेको खुल्ला डबल्स व्याडमिन्टन प्रतियोगिताको पूर्व प्रधानमन्त्री खनालले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले खेलकुदको विकासलाई राज्यले राष्ट्रको प्रगति र चिनारीसँग जोड्न सक्नुपर्ने बताउनुभयो ।

बुधबारसम्म सञ्चालन हुने सो प्रतियोगितामा ३० वर्षभन्दामाथिका १६ टोलीका ३२ खेलाडीको सहभागिता रहेको छ ।