रसुवा, १४ असार – गएरातिको वर्षाका कारण अवरुद्ध भएको पासाङ राजमार्गअन्तर्गत रसुवाको मूलखर्क खण्डमा आज अपराह्नबाट सवारीसाधन आवतजावत भएको छ ।
प्रहरी प्रमुख अवधेश विष्टका अनुसार डिभिजन सडक कार्यालय नुवाकोटको डोजरको सहायताले पहिरो व्यवस्थापन गरी सडक सञ्चालन भई रोकिएका सवारीसाधन आ–आफ्ना गन्तव्यतर्फ गइसकेका छन् ।
उता नेपाल–चीन सिमाना रसुवागढीनजिक गएको पहिरो भने बुधबारसम्म पन्छाउने लक्ष्य लिई स्काभेटर प्रयोग गरिदिन रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरी प्रमुख विष्टले बताउनुभयो ।
गएराति मूलखर्क र रसुवागढी क्षेत्रमा ठूलो पहिरो गई सडक अवरुद्ध भएपछि सयौँ मालवाहक सवारीसाधन रोकिएर सडकका विभिन्न भागमा अलपत्र परेका थिए ।