खेलमा करिअर खोज्नेलाई स्पोर्टस् साइन्स

काठमाडौं, जेठ २६ – खेलकुदमा रुचि भएका र यही क्षेत्रमा करिअर बनाउने चाहना भएका विद्यार्थीले अब कक्षा ११ बाटै स्पोर्टस् साइन्स पढ्न पाउने भएका छन् । यही वर्ष एसएलसी उत्तीर्ण गर्नेहरूले कक्षा ११ मा स्पोर्टस् साइन्स पढ्न पाउने भएका हुन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालयले पनि स्पोर्टस् साइन्स सञ्चालन गर्न प्राज्ञिक परिषद््बाट स्वीकृति पाइसकेको छ । तर, पूर्वाधार तयार गर्न नसक्दा योजना रोकिएको छ ।
शिक्षा ऐनको आठौँ संशोधनले उच्च माध्यमिक शिक्षा परिषद्् खारेज नगर्दै परिषद््ले यही शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी कक्षा ११ र १२ को स्पोर्टस्् साइन्सको पाठ्यक्रम तयार पारेको हो ।
उच्च माध्यमिक शिक्षा परिषद््का उपाध्यक्ष चैतन्य शर्माले स्पोर्टस्मा राम्रो अवसर रहेको र खेलको सैद्धान्तिक र प्राविधिक ज्ञान लिन चाहनेहरूलाई मध्यनजर गर्दै यो विषय तयार पारिएको बताए । ‘खेल खेल्ने व्यक्तिलाई टेक्निकल कुरा जान्न आवश्यक हुन्छ, त्यसमा म्याथम्याटिक्स पनि जोडिन्छ,’ परिषद््का उपाध्यक्ष शर्माले भने, ‘फुटबलमा गोल हान्दा कसरी पोस्टमा छिराउने भन्ने जान्न पनि टेक्निकल नलेज चाहिन्छ ।’ नयाँ पत्रिकाले छापेको छ ।
नेपालमा धेरै खेल खेलिने तथा खेलप्रति चासो भएका व्यक्ति पनि बढिरहेकाले स्पोर्टस्् साइन्सको महत्त्व रहेको परिषद््का अधिकारीको भनाइ छ । टेक्निकल ज्ञानसहित खेलमा उपस्थिति पनि बढोस् भन्ने उद्देश्यले परिषद्ले यो विषयलाई प्राथमिकता दिएको परिषद्का प्रशासन महाशाखा प्रमुख दुर्गा अर्यालले बताए । प्रशासन महाशाखा प्रमुख अर्याल भन्छन्, ‘स्पोर्टस््मै करिअर बनाउन चाहने धेरै छन्, यो विषय उनीहरूलाई उपयुक्त छ ।’
विश्वमा धेरै देशले स्पोर्टस्् युनिभर्सिटी नै स्थापना गरिसकेका छन् । खेल र खेलसम्बन्धी शिक्षालाई प्राथमिकता दिएका राष्ट्रले राम्रो प्रदर्शनसमेत गरेको पाइएको छ । नेपालमा पनि खेलमा प्रगतिको सुरुवात गर्न यो व्यवस्था गरिएको परिषद्का अधिकारीहरूको भनाइ छ । स्पोर्टस्् साइन्स अध्ययन गर्नेले खेल व्यवस्थापनसमेत राम्रो गर्नसक्ने उनीहरूको दाबी छ ।