स्वीकृतिबिना शुल्क बढाएको पाइयो

वैशाख ३०, काठमाडौं–  विभिन्न निजी विद्यालयले शिक्षा मन्त्रालयको स्वीकृतिबिना नै शुल्क बढाएको पाइएको छ।

शिक्षा मन्त्रालय, विद्यार्थी सङ्गठन र अभिभावकले गरेको अनुगमनमा विद्यालयले मन्त्रालयबाट स्वीकृत नै नगराएर शुल्क बढाएको पाइएको हो। मन्त्रालयका प्रवक्ता डा हरि लम्सालको नेतृत्वमा ललितपुरस्थित रातो बङ्गला र आइडियल मोडल स्कुलको अनुगमन गरिएको थियो।

विद्यालयले मन्त्रालयको स्वीकृतिबिना नै शुल्क बढाएको पाइएको अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी गराए। विशिष्ट श्रेणीका स्कुलले दुईतिहाई अभिभावकको भेलाबाट शुल्क पास गराई मन्त्रालयबाट स्वीकृत गराउनु पर्ने व्यवस्था छ।

“अभिभावकको भेलाबाट स्वीकृत गरेपनि मन्त्रालयबाट भने स्वीकृत गरिएको थिएन त्यसरी मन्त्रालयको स्वीकृतिबिना शुल्क बढाउन पाइन्न।” –उनले भने ।

उनकाअनुसार अनुगमनका क्रममा रातो बङ्गलाले कक्षा १ मा २५ हजार र आइडियल मोडेलले रु १५ हजार ४५ मासिक शुल्क लिएको पाइएको थियो भने आइडियलले १० प्रतिशत शुल्क बढी लिएको पाइएको थियो।