बैशाख २८, काठमाडौं– नेपाल सरकारबाट फिर्ता बोलाइएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफूमाथि सरकारले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले सो चुनौति दिएका हुन् ।
पूर्व पर्यटनमन्त्री समेत रहेका उपाध्यायले प्रधानमन्त्री केपी ओलीकै कारण आफू पदबाट फिर्ता हुनुपरेको बताएका छन् । भारतको इकोनोमिक टाइम्ससँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले भारतका लागि नेपालका तर्फबाट राजदूत नियुक्त भएदेखी नै मेरो देशको इच्छाअनुसार काम गर्दै आएको छु । सरकारले ममाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिन्छु ।’
उनले भारत र नेपालबीचको सम्बन्धलाई सही दिशा दिनका लागि मेहिनत गरेर लागेको समेत बताएका छन् । उनले आफूमाथि लागेका निराधार आरोपबाट स्तब्ध बनेको बताएका छन् ।
यसअघि सरकार परिवर्तनका लागि नेपाल आएर भारतीय राजदूत रन्जित रेसँग वार्ता गरेको भन्दै उनलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो । तर उनले सांस्कृतिक तथा पर्यटकिय कार्यक्रमको प्रवद्र्धनका लागि नेपाल आउने कार्यक्रम तय भएपनि नेपाल आउने कार्यक्रम नै स्थगित भएका कारण त्यस्तो कुनै वार्ता नभएको बताए । उनले आफ्नो कार्यक्रमका सम्बन्धमा परराष्ट मन्त्रालयलाई जानकारी गराएको समेत बताएका छन् ।
राष्ट्रपतिको भारत भ्रमण स्थगित हुनु नेपाल र भारतको सम्बन्धका लागि राम्रो नभएको समेत उनले बताएका छन् । ओली सरकारप्रति निकै रुष्ट देखिएका उपाध्यायले भनेका छन्, ‘उनी गत फेब्रुअरीमा भारत भ्रमणमा आएका थिए । उनको भ्रमण सफल नै थियो । ‘आखिर कम्यूनिष्टहरु फरकै हुन्छन् ।’
उपाध्याय नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् । उनले आगामी दिनमा फेरि समाजसेवा र राजनीतिमा सक्रिय हुने बताएका छन् ।