यादव ओझा
काठमाडौं–सरकारी कर्मचारीले जस्तै निजी क्षेत्रमा कार्यरत कर्मचारीले समेत अनिवार्य पेन्सन पाउने व्यवस्था लागु हुने भएको छ । कर्मचारी संचय कोषको पहलमा निजी क्षेत्रका कर्मचारीलाई संचयकोष र निवृत्तिभरण कोष निर्माण गरिने भएको हो । निजी क्षेत्रमा कार्यरत कर्मचारीले अनिवार्य निवृत्तीभरण पाउने व्यवस्था कायम गर्न हाल कायम रहेको कर्मचारी सञ्चय कोष ऐन २०१९ अन्तर्गत नियमावली निर्माण गरिने छ ।
कर्मचारी संचय कोषका प्रवक्ता शिवकुमार अर्यालका अनुसार नियमावली लागु भए निजी क्षेत्रका सवै कम्पनीले कर्मचारीको अनिवार्य निवृत्तिभरण गर्नु पर्ने छ । ‘अनुदानमा आधारित निवृत्तिभरणको व्यवस्था नियमावलीमा हुने छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीले आफ्नो अनुदान अनुसार पेन्सन तथा संचय कोष अन्तर्गतको सुविधा पाउने छन्,’ उनले भने । उनले सो सम्बन्धी विधेयक संसदमा दर्ता गर्नका लागि अर्थ मन्त्रालयमा पेश गरिएको बताए ।
विधेयमा निजी क्षेत्रका कर्मचारीको निवृत्तीभरण सम्बन्धी छुट्टै कोष निर्माण गर्ने उल्लेख छ । कोषमा कम्पनी र कर्मचारीको तर्फबाट रकम संचित गरिने प्रवक्ता अर्यालले बताए । ‘कम्पनीले कर्मचारीको नाममा संचयकोषमा छुट्टै खाता खोलेर निवृत्तीभरणका लागि रकम जमा गर्नु पर्ने व्यवस्था विधेयकमा छ,’ उनले भने, ‘कर्मचारीको मासिक पारिश्रमिकबाट निश्चित रकम काटेर उक्त खातामा जम्मा गरिने छ ।’ सरकारी कर्मचारीले जस्तै निजी क्षेत्रका कर्मचारीले पनि पेन्सन तथा संचयकोषको सुविधा पाउने उनले बताए ।
विधेयकमा निजी क्षेत्रमा कार्यरत कर्मचारीसँगै वैदेशिक रोजगारमा जाने कामदारका लागि समेत पेन्सन सुविधा उपलब्ध गराउने सम्बन्धी प्रस्ताव गरिएको छ । अन्रराष्ट्रिय श्रम संगठन (आइएलओ)बाट प्राप्त प्राविधिक प्रतिवेदनको सहयोगमा सो विधेयक निर्माण गर्न लागिएको हो ।
नियमावली लागु भए निजी तथा वैदेशिक रोजगार क्षेत्रमा सेवा अवधि पुरा गरेका कामदारले कोषमा गरेको योगदानको आधारमा मासिक रुपमा पेन्सन् पाउने छन् । यस्तै, संचयकोष अन्तर्गतको सुविधामा सेवा अवधिभर जम्मा भहेको रकम र सोको हुन आउने ब्याज गरि कामदारलाई एकमुष्ट रकम प्राप्त हुनेछ । नियमावलीमा पेन्सन र संचयकोष सम्बन्धी छुट्टा छुट्टै सुविधा प्राप्त गर्न सकिने प्रावधान हुने छन् ।
निजी क्षेत्रमा कार्यरत कर्मचारीले पेन्सन पाउने विषय राम्रो भए पनि त्यसविषयमा आफुहरुसँग कुनै सल्लाह नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘विषय त राम्रो हो । तर, प्रावधानहरु के के हुने भन्ने हामीलाई कुनै जानरी छैन,’ उनले भने । निजी क्षेत्रका केहि कम्पनीले अहिले पनि सेवा अवधि पुरा गरेका आफ्ना कर्मचारीलाई पेन्सन दिइरहेको उनले बताए ।
हाल निजी क्षेत्रमा करीव २० लाख कामदार छन् । यस्तै ३० लाख नेपाली वैदेशिक रोजगार अन्तर्गत विभिन्न देशमा कार्यरत छन् । निजी क्षेत्रका कर्मचारी र वैदेशिक रोजगारमा गएकाहरुका लागि निवृत्तीभरण सम्बन्धी व्यवस्था भए कर्मचारी संचय कोषमा दिर्धकालिन पूँजी संकलन हुने देखिन्छ । उक्त पूँजी दिर्धकालसम्म नै पूर्वाधार विकासमा लगानी गर्न सकिने संचयकोषका प्रवक्ता अर्यालले बताए ।