चैत ७, काठमाडौं– चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले संगठनभित्र कारबाहीमा परेका तथा निस्क्रिय रहेका केही व्यक्तिहरूले पार्टी छाडेको जानकारीमा आएको भन्दै त्यस्ता व्यक्तिको पछाडि नलाग्न पार्टीपंक्तिमा आह्वान गरेको छ ।
चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गरेर कारबाहीमा परेका र निश्किाषित भएका व्यक्तिको पछाडि नलाग्न सबैलाई आह्वान गर्नुभएको हो ।
‘केही व्यक्ति जो राष्ट्रियता र संघीय गणतन्त्रको विपक्षमा सधैँ लागिरहे, ती व्यक्तिहरू चुरेभावर पार्टीभित्र रहेर आन्दोलन भाँड्ने, आन्दोलनमा सरिक नहुने जस्ता कार्य गर्ने बिचलनवादी प्रवृत्तिका केही व्यक्ति पार्टीबाट अलग हुँदैमा हाम्रो पार्टी र संगठनहरूलाई कुनै पनि किसिमको असर पर्दैन’, विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष न्यौपानेले विज्ञप्तिमा अगाडि भन्नुभएको छ, ‘जसलाई हाम्रो पार्टीले साधारण सदस्यता समेत नरहने गरी ३ महिना अगाडि निश्कार्षन गरिसका छौँ । त्यस्ता व्यक्तिहरूको पलायनबाट चुरेभावर पार्टीलाई थप एकतावद्ध र सुदृढीकरण गर्न ठूलो सहयोग मिलेको छ ।’
चुरेभावर पार्टीको नाममा केही व्यक्तिहरू शनिबार पूर्व पञ्चहरूको पार्टी राप्रपा नेपालमा प्रवेश गरेपछि अध्यक्ष न्यौपानेले विज्ञप्ति जारी गरेर ती व्यक्तिहरू आफ्नो पार्टीसँग सम्बन्धित नरहेको बताउनुभएको हो ।
यसैबीच, चुरेभावर पार्टीको मुल संस्थापनबाट अलग भएका पार्टीहरूलाई एकठाउँमा ल्याउन प्रयास थालेको जनाएको छ । भूमिराज निरौला नेतृत्वको चुरेभावर लोकतान्त्रिक पार्टीसँग पनि एकीकरणको प्रयास सुरू गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । यसअघि केशवप्रसाद मैनाली नेतृत्वको चुरेभावर राष्ट्रिय पार्टीसँग एक वर्ष अगाडि नै एकीकरण भइसकेको छ ।