–अन्जली रम्तेल
काठमाडौं– रोजगारीका दिनहुँ विदेशिने युवाको सङ्ख्या हजारौँ भएपनि सीप भएका युवाले खाली हात बस्नुपर्दैन भन्ने गतिलो उदाहरण हुन् युवा व्यवसायी रामशरण विश्वकर्मा ।
रसुवा, भोर्ले–९ का ३३ वर्षे युवा रामशरणले प्रवेशिका परीक्षा सकिनेबित्तिकै रोजगारीका लागि काठमाडौँको यात्रा तय गरेका थिए । सुरुवातका दिन निकै सङ्षर्घशील भएपनि त्यसको केही वर्षपछि उनले सफलताको स्वाद पनि चाख्न थालिहाले ।
नेपाल सुन चाँदी व्यवसायी सङ्घद्वारा सञ्चालित नेगोसिडा नामक परियोजनामार्फत् उनले एक वर्षे शिल्पी डिजाइनिङ् कोर्स लिएपछि उनको आत्मविश्वासले रङ्ग देखाउन थाल्यो । उनी भन्छन्–‘तालिम लिनुअघिसम्म अर्काको पसलमा सानोतिनो काममा गुजारा चलाइरहेको भएपनि त्यसपछि ममा आत्मविश्वास आयो । अलिअलि लगानी अनि धेरै परिश्रम र धैर्यताका कारण अहिलेको सफलता हात लागेको हो ।’
बीबीएससम्मको अध्ययन गरेका रामशरणले सानैदेखि आफ्ना अभिभावकले पनि यही काम गरेको देखेका थिए । तर अभिभावकले जति काम गर्दा पनि हातमुख जोर्नेभन्दा बढीको आयआर्जन गर्न नसकेको यथार्थ पनि उनको अगाडि थियो । त्यसैले उनले आफैँले यही काम थालनी गरेपछि केही नयाँ गर्न नसके यो क्षेत्रमा अगाडि बढ्न गाह्रो हुने देखिसकेका थिए । त्यसैले पनि उक्त तालिमले आफ्नो कार्यशैलीमा परिवर्तन ल्याएको उनी बताउँछन् ।
सुरुमा कोटेश्वरमा सिमित रहेको उनको प्रशंसा ज्वेलर्स प्रालिले अहिले सातदोबाटो र कलङ्कीमा समेत आफ्नो शाखा विस्तार गरिसकेको छ । अहिले उनले २०÷२५ जनालाई रोजगारी समेत दिलाइरहेका छन् । आफ्नी छोरी प्रशंसाको नामबाट सुरु गरेको व्यवसायले अहिले उनलाई दामका साथै नाम पनि दिलाएको छ । उनको कामका कारण नै विभिन्न सङ्घसंस्थाले उनलाई सम्मान समेत गरिसकेको छ ।
‘लगन र परिश्रम भए कहीँ पनि मानिसले असफलता भोग्नुपर्दैन’, उनले भने–‘अहिले नेपालभर पाँच लाख बङ्गाली सुन तथा चाँदीको काम गर्दैछन् । काठमाडौँमा मात्र तीन लाख छन् । उनीहरु नेपालमा आएर सुन चाँदीको डिजाइन बनाउन सिक्ने र यहीँ व्यवसाय गर्नेहरु छन् । उनीहरु यहाँ आएर काम गर्न सक्छन् भने हामी यहीँ भएकाले किन नसक्ने?’ उनले डिजाइन गरेको गहना अहिले नाम चलेका ऋद्धिसिद्धि ज्वेलर्स, निलम ज्वेलर्सबाट समेत माग भई बिक्री हुने गरेको बताए ।
आफूमा रहेको सीप अरुलाई पनि सिकाउने र यस क्षेत्रमा दक्ष कालिगढको सङ्ख्या वृद्धि गराउनेतर्फ केही गर्न सकिन्छ भन्नेतर्फ पनि आफूले योजना बनाउँदै गरेको उनले सुनाए ।
युवाले आँट गरे गर्न नसक्ने भन्ने केही कुरा नभएको बताउने रामशरण युवालाई अझ प्रोत्साहनको खाँचो रहेको छ भन्छन् । ‘सरकारले पनि युवाका लागि केही गर्नुप¥यो’, रामशरण भन्छन्–‘नेपालमा सीप सिकाउने संस्था नै कम छन् । युवाले काम सिक्छु केही गर्छु भन्ने सोँच राखे पनि कहाँ सिक्ने भन्ने समस्या हुन्छ । अनि लगानीको कुरा पनि उठ्छ । त्यसपछि केही गर्ने विचार भएकाले युवा पनि हतोत्साही हुन्छन् अनि विदेशिन्छन् ।’
त्यसैले सरकारले युवालाई विदेशिनबाट जोगाउन भएपनि रोजगारीको सिर्जना गर्नैपर्ने उनले देख्छन् ।