फागुन २६, काठमाडौं– माओवादी घटक दलहरू जुट्नुपर्ने बेलामा बाबुराम भट्टराईले एमाओवादी परित्याग गरी नयाँ शक्ति नेपाल गठन गरेकामा उनका पूर्वसहकर्मी नेताहरूले आलोचना गरेका छन् । माओवादी पार्टीमात्रै त्याग नगरी माक्र्सवाद त्यागेको भन्दै सशस्त्र जनयुद्धका बेला आफन्त मारिएका जनलाई जबाफ दिन उनीहरूले भट्टराईमाथि दबाब दिएका छन् ।
उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका एमाओवादी सचिव टोपबहादुर रायमाझी, नेकपा क्रान्तिकारी माओवादीकी प्रवक्ता पम्फा भुसाल र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले भट्टराईको पछिल्लो राजनीतिक गतिविधिप्रति आक्रोश व्यक्त गरेका हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मतभेद हुँदा रायमाझी भट्टराईसँग नजिक थिए भने सशस्त्र जनयुद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चा नेपालमा भट्टराई अध्यक्ष हुँदा भुसाल महासचिव थिइन् । त्यसैगरी सशस्त्र संघर्ष हुँदा माओवादीबाट बाहिरिनुअघि थापा भट्टराई नजिक थिए । नयाँ शक्ति नेपालको संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले भने भट्टराईको बचाउ गरेका थिए । (नागरिक दैनिकबाट)