कांग्रेस महाधिवेशनः अनिर्णीत मत नै निर्णायक

फागुन २३, काठमाडौं– कांग्रेस नेतृत्वका लागि सभापतिका तीनै प्रत्याशीले शनिवार राति अबेरसम्म चलायमान हुन सक्ने र अनिर्णीत मत आआफ्नो पक्षमा ल्याउने अन्तिम कसरत गरे। कांग्रेसका ३ हजार १ सय ६१ मतदातामध्ये करिब दश प्रतिशत मत अनिर्णीत र चलायमान हुने अनुमान छ। पार्टीमा यसपटक ५० प्रतिशतभन्दा बढी नयाँ अनुहारका प्रतिनिधि छन्। नयाँ प्रतिनिधि बढी आएकैले प्रत्याशीहरु ढुक्क हुने अवस्थामा छैनन्। कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरवहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानल मध्यरातसम्मै मत तान्ने कसरतमा थिए। त्यस क्रममा प्रतिनिधिलाई भविष्यमा अवसर प्रदान गर्ने आश्वासनदेखि लिएर आर्थिक प्रभावमा पार्ने प्रयत्न समेत भएको हुन सक्ने कांग्रेसकै नेताहरुले बताए। (कान्तिपुर दैनिकबाट)